काठमाडौँ, साउन ९ गते — साहित्य सन्ध्याको कार्यसमिति बैठकले २०८१ सालका पाँचजना विशिष्ट व्यक्तित्वहरूलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ। यस वर्षको पुरस्कारहरू साहित्यिक सिर्जना, सहभागिता, चिकित्सा–शिक्षा सेवा, विद्यार्थी प्रेरणा तथा नियात्रा साहित्यका क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई प्रदान गरिनेछ।
घोषित पुरस्कार र सम्मानित व्यक्तित्वहरू:
१. प्रा.डा. कपिल लामिछाने
नेपाली कथा, लघुकथा, कविता, निबन्ध, समालोचना तथा लोकसाहित्यमा चार दशकभन्दा बढी योगदान दिँदै आएका प्रा.डा. कपिल लामिछानेलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अन्तर्गत रु. २१,१०० नगदसहित सम्मान गरिनेछ।
२. नवराज श्रेष्ठ
धादिङका कवि नवराज श्रेष्ठलाई वर्षभरि साहित्य सन्ध्या गोष्ठीहरूमा सक्रिय सहभागिता र रचनावाचन गरेबापत रु. ५,००० राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गरिनेछ।
३. डा. मञ्जु दाहाल
नेपालकी पहिलो महिला अकुपन्चरिस्ट तथा स्वास्थ्यशिक्षा र सेवामा समर्पित डा. दाहाललाई ‘साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मान’ अन्तर्गत रु. १०,००० प्रदान गरिनेछ।
४. सरोज अधिकारी
काभ्रेका जेहेन्दार तर विपन्न पृष्ठभूमिका विद्यार्थी सरोज अधिकारीलाई ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’ अन्तर्गत रु. १०,००० अर्पण गरिनेछ।
५. भवानी खतिवडा
नेपाली नियात्रा साहित्यमा निरन्तर कलम चलाउँदै आएकी भवानी खतिवडालाई ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अन्तर्गत रु. १०,००० प्रदान गरिनेछ।
स्रष्टा चयन समितिमा वासुदेव अधिकारी (संयोजक), नमुना शर्मा र प्रशान्त खरेल रहनुभएको थियो। समितिको सिफारिसका आधारमा निर्णय गरिएको हो।
सम्मान समारोहको जानकारी:
उपरोक्त सबै पुरस्कारहरू आगामी २०८२ भदौ ७ गते, शनिबार, अपराह्न १ बजे, पद्मकन्या क्याम्पसको डेनिस हल मा आयोजित विशेष समारोहमा अर्पण गरिनेछ।
