मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको विचार गोष्ठी सम्पन्न

असोज १२, २०६९
रमेश पोखरेल, काठमाण्डौ

मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजनामा आज असोज १२ गते शुक्रवार नेपाल बारको सभाकक्ष, रामशाहपथमा समकालीन सामाजिक साँस्कृतिक यथार्थ र रूपान्तरणको प्रश्न विषयक विचार गोष्ठी सम्पन्न भयो ।

 

प्रतिष्ठानका संरक्षक नेकपा एमालेका नेता के.पी.शर्मा ओलीको प्रमुख आतिथ्य, प्रतिष्ठानका अध्यक्ष प्रा.डा.कृष्णबहादुर थापाको अध्यक्षता र प्रतिष्ठानका सदस्य सचिव माधव प्रधानको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष विचार गोष्ठीमा डा.जीवेन्द्र देव गिरी, देवराज घिमिरे, राष्ट्रिय जन साँस्कृतिक महासङ्घका महासचिव खगेन्द्र राई, प्राज्ञ द्वय सुलोचना मानन्धर र विष्णु प्रभात, प्राज्ञ शान्तकुमार राई, लालबाबु यादब, कर्ण मास्के, हेमनाथ पौडेल, राम विनय र कार्यपत्र प्रस्तोता टङ्क उप्रेती अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।  सबै सहभागीलाई प्रतिष्ठानका उपाध्यक्ष लालबाबु यादबले स्वागत गर्नु भएको थियो ।

सञ्चार कर्मी टङ्क उप्रेतीले उल्लेखित विषयको ६ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्नु भयो र उक्त कार्यपत्रमा अनिल पौडेल, खगेन्द्र राई, सुमन्त घिमिरे, कृष्ण ढकाल, प्रशान्त खरेल, लालबाबु यादब, हेमनाथ पौडेल, गीता कटुवाल, राम विनयले  आआफ्ना धारणा राख्दै कार्यपत्रलाई पूर्णता दिनका लागि थप गर्नु पर्नेका पक्षका बारेमा सुझाब दिनु भएको थियो ।

प्रमुख अतिथि के.पी.शर्मा ओलीले कुनै पनि देशको संस्कृतिको निर्माणमा नागरिकको चेतनाको स्तरले महत्त्वपूर्ण भूमिका खेलेको हुने, हिंसात्मक उग्र वामपन्थले सिर्जना गरेको अतिवाद नयाँ संस्कृति निर्माणको बाधक रहेको, कुनै पनि प्रकारको अतिवाद क्रान्ति होइन र हुँदैन, राजनीतिज्ञ भनेका सबै नै खराब हुन् भन्ने एकमुष्ठ मूल्याङ्कन पनि बेठिक रहेको, माक्र्सवादका आधारभूत मान्यतामै परिवर्तन खोज्नु चाहिँ बेठिक कुरा भएको; प्रतिक्रियावादी, यथास्थितिवादी, उग्र वामपन्थी आपराधिक अतिवाद, जातीय तथा साम्प्रदायिक अतिवाद वा घृणावादी संस्कृति र जनताको बहुदलीय जनवादी संस्कृति अहिले देखा परेका र जबज संस्कृति नै वैज्ञानिक रहेको जसले अन्ध विश्वास, अज्ञान तथा भ्रममा होइन सत्यमा आधारित समानता, न्यायको पक्षमा उभिने र शोषण, उत्पीडनको विपक्षमा उभिने कार्य गर्दछ भन्ने दृष्टिकोण प्रस्तुत गर्नु हुादै अत्यन्त गहन विषयमा प्रतिष्ठानले बहस चलाएकाले प्रकाशनमा जाँदा चाहिँ यसको गहनता र महत्तालाई धान्ने खालको गतिलो खुराकको रूपमा ल्याउनु पर्ने, हतारको सामग्री बनाउँन नहुने विचार राख्नु भयो ।

गोष्ठीका अध्यक्ष प्रा.डा.कृष्णबहादुर थापाले अत्यन्त गहन विषयमा बहसको थालनी गरिएकाले यसलाई विस्तृत पार्नका लागि उपस्थित विज्ञ व्यक्तित्वहरूले लिखित सुझाब उपलब्ध गराइ दिन आग्रह गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *