रामानन्द जोशीको नाममा आधुनिक कला सङ्ग्रहालय स्थापना हुँदै

नेपाली आधुनिक कलाको विकासमा विशिष्ट योगदान पुर्‍याएका कलाकार रामानन्द जोशीको नाममा पुल्चोकस्थित उहाँको पूर्वनिवास तथा स्टुडियोमा आर.एन. जोशी आधुनिक कला सङ्ग्रहालय स्थापना गरिने भएको छ। सङ्ग्रहालयले जोशीको कलायात्रा, सिर्जना र नेपाली आधुनिक कलाको विकासक्रमलाई अभिलेखीकरण तथा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

रामानन्द जोशी कला ट्रस्टका अध्यक्ष तथा उहाँका सुपुत्र नवीन जोशीका अनुसार सङ्ग्रहालयले नेपाली आधुनिक कलाको अध्ययन, संरक्षण तथा सार्वजनिक पहुँच विस्तारमा योगदान पुर्‍याउनेछ। यसै उद्देश्यअनुरूप ‘इम्बेडेड: आर.एन. जोशी एन्ड द मेकिङ अफ नेपाली मोडर्न आर्ट’ शीर्षकमा प्रदर्शनीसमेत आयोजना गरिनेछ।

जोशीले सन् २०१६ देखि २०२१ सम्म सर जे.जे. स्कुल अफ आर्टमा अध्ययन गरेका थिए। नेपाल फर्किएपछि उनले प्रकृति, संस्कृति, समाज, जनजीवन, राजनीति र संस्कारलगायत विविध विषयलाई आफ्ना कलामा समेटेका थिए। नेपालका विभिन्न स्थानमा पुगेर सामाजिक तथा मानवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरी क्यानभासमा उतारेका उनका सिर्जनाले नेपाली समाज र समकालीन परिवेशलाई बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।

काठमाडौं विश्वविद्यालयमा अध्यापनरत कला इतिहासकार प्रणवमान सिंहले सङ्ग्रहालयको क्युरेसन गरेका छन्। उनका अनुसार सङ्ग्रहालयलाई कलाकृति अवलोकन गर्ने स्थलमा मात्र सीमित नराखी नेपाली आधुनिक कलाको इतिहास, अभिलेख र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ।

सङ्ग्रहालयमा कलाकृति, तस्बिर, व्यक्तिगत कागजात, पत्राचार, प्रकाशन तथा अन्य ऐतिहासिक सामग्री समेटिनेछन्। यी सामग्रीमार्फत दर्शकले सन् १९५० को दशकदेखि नेपाली आधुनिक कलाको विकासक्रम अध्ययन गर्न सक्नेछन्। साथै, प्रदर्शनी, अभिलेख तथा शैक्षिक कार्यक्रममार्फत अनुसन्धान, संवाद र सार्वजनिक सहभागितालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव डा. धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव कुश्मा महरा प्रगति, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाल तथा ललितकला क्षेत्रका अन्य व्यक्तित्वहरूले पनि सङ्ग्रहालयले नेपाली आधुनिक कलाको अध्ययन र कलाकारको योगदान बुझ्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरेका छन्।

अग्रज मिथिला कलाकार एससी सुमनले सङ्ग्रहालयले रामानन्द जोशीका कलामार्फत नेपाली आधुनिक तथा समसामयिक अवस्थालाई आम दर्शकमाझ पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

ट्रस्टका अध्यक्ष नवीन जोशीका अनुसार सङ्ग्रहालयले कलाकृति, अभिलेखीय सामग्री र ऐतिहासिक दस्तावेजलाई एकै स्थानमा संरक्षण गर्दै नेपाली आधुनिक कलाको परिदृश्य निर्माणमा योगदान पुर्‍याएका व्यक्तित्व, संस्था र विचारको अध्ययनलाई प्रोत्साहन गर्नेछ। सङ्ग्रहालयको उद्घाटन केही दिनपछि गरिने जानकारीसमेत उनले दिएका छन्।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *