साहित्य सन्ध्याको ‘कविता सिर्जना विधि’ प्रशिक्षणमूलक विशेष गोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाण्डौ


साहित्य सन्ध्याको नियमित मासिक ३७१ औँ शृङ्खला चैत्र ५ गते शनिवार अपराह्न ठिक १ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको संयोजन र सांस्कृतिक संस्थानसँगको संयुक्त आयोजनामा राष्ट्रिय नाचघरको सानो सभाकक्षमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘कविता सिर्जना विधि’ विषयमा प्रशिक्षणमूलक कार्यशाला गोष्ठी गरिएको थियो । पूर्व मन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा साहित्यकार शान्ता मानवी गोष्ठीकी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, प्राज्ञहरू कविता आले, हरिप्रसाद तिम्सिना र शम्भुकुमार मिलन, जन गायक रामकृष्ण दुवाल र डा.देवी नेपाल उपस्थित हुनु हुन्थ्यो ।

​​

स्वदेशमा मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्म युवा पुस्तालाई कविता सिर्जना विधि सिकाउने अभियान नै सञ्चालन गरि रहनु भएका; लेखन, वाचन र गायनका सशक्त त्रिवेणी रहेका; विदेशमा समेत गएर प्रशिक्षण दिइ रहेका अहिलेको पुस्ताका प्रखर कवि, छन्द पराग जस्तो शास्त्रीय छन्दको लाक्षणिक कृति प्रकाशित गरी ख्याती आर्जन गरि सकेका; साहित्य सन्धाका सचिव समेत रहेका र साहित्य सन्ध्याका विगतका कार्यशालाहरूमा अनेकौँ महत्त्वपूर्ण भूमिका निर्वाह गरि सकेका डा.देवी नेपाललाई पुराना र स्थापित स्रष्टाहरूबाट नयाँ पुस्ताले कसरी सिक्ने ? नयाँ पुस्तालाई कविता सिर्जनामा कसरी लगाउने र सुन्दर सिर्जना कसरी लेख्ने विषय आजको आवश्यकताको विषय रहेको ठानेर यो विशेष र ऐतिहासिक प्रविधि मैत्री कार्यशाला सञ्चालन गरि दिन आग्रह गरिएको अनि सहभागिताका लागि सबै आदरणीय अग्रजदेखि नयाँ पुस्तासम्मलाई आमन्त्रण गरिएको जानकारीका साथ सबैलाई स्वागत गर्दै सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले कार्यक्रमको शुभारम्भ गर्नु भयो ।


उपस्थित सम्पूर्ण व्यक्तित्वलाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले साहित्य, कला र संस्कृतिको सङ्गमको रूपमा यो संस्थालाई परिचित गराउने उद्देश्य रहेको, संस्थानसँग ठुला प्रकृतिका दुइटा सभाकक्ष रहेका र सानो ठिक्कको यो सभाकक्ष रहेको हुँदा सिर्जनात्मक कर्मका लागि र सामाजिक रूपान्तरणका लागि साहित्य, कला र संस्कृतिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ विभिन्न सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी कार्यक्रम निरन्तर गरि रहिएको छ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घसँग र जन साहित्यिक मञ्च नेपालसँग यसअघि पनि पटक पटक सहकार्य गरिएको छ भने पहिलो पटक विगत तिन दशकभन्दा बढी समयदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान चलाइ रहेको साहित्य सन्ध्यासँग पनि बडो महत्त्वपूर्ण विषयमा सहकार्य गर्ने अवसर प्राप्त भएको छ । अहिलेको युवा पुस्तालाई बरालिनबाट जोगाउन र सिर्जनाका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा सामेल गर्नका लागि सुन्दर सिर्जना कसरी गर्न सकिन्छ भन्ने अभिप्रायले अनि स्थापित स्रष्टा तथा नवोदित स्रष्टाका बिचमा पुलको काम गर्न आयोजना गरिएको यो महत्त्वपूर्ण र ऐतिहासिक समारोहमा आइ दिनु हुने सबै सबैमा हार्दिक हार्दिक स्वागत गर्दछु भन्नु भयो ।


धेरै औपचारिक नपारिएको विशेष गोष्ठीको विषयमा प्रवेश गर्दै डा.देवी नेपालले लगातार एक घण्टा चालिस मिनेटसम्म कविता सिर्जना विधि, कवितालाई कसरी सुन्दर बनाउने र वाचनमा कसरी ध्यान दिने ? वाचनका के कस्ता शैली हुन सक्छन् र सबैभन्दा ठुलो कुरा खास सिद्धान्त र सूत्रभित्र कविता कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा विशद चर्चा गर्नु भयो । कविता सिर्जनामा सिद्धान्त पनि आवश्यक कुरा हो तर त्योभन्दा ठुलो कुरा व्यवहार हो, मान्छेको उमेर अनुसार सिर्जना गर्दछ जस्तै सानामा प्रकृति, फुल, पशुपंछीका कविता लेखिन्छ भने दश कक्षातिरकाले देशभक्तिका अनि ११–१२ तिर पढ्नेले मायाप्रेमका कविता लेख्छन्, तिस कटेपछि समाज बोध र सामाजिक चेतनाका कविता लेखिन्छन् भने पचासमाथिकाले उपदेशका कविता लेख्न थाल्छन् । कविता मनोरञ्जनका लागि वा शृङ्गारिकताका र क्रान्तिकारिताक

ा पनि लेखिन्छन उमेर अनुसार । त्यसै गरी कवितालाई शब्दको खेल र भावनात्मक अभिव्यक्ति समेत मान्ने गरिन्छ । कविताको स्वरूपमा मुक्तक, कविता, गीत गजल पाइन्छन् । मुक्तक चार हरफको र बढीमा आठ अरफसम्मको लेखिन्छ भने कविता र गजल लघु रूपमा लेखिन्छन् । गीत भने सुरुमा दुई हरफको अन्तरा र त्यसपछि चार चार हरफका दुई अन्तरामा लेखिन्छ । यो स्वरूपमा आदर्श गीत मानिन्छ । कवितामा वार्णिक छन्द (वर्ण, गण, सङ्केतका आधारमा लेखिने), मात्रिक छन्द (दीर्घलाई दुई र ह्रस्वलाई एक मात्रा गणना गरिने), लोक छन्द जस्तै बालोरी ४+३ =७ (टालाटुली बटुली, कति राम्री पुतली), बालोरी २ (४+३+४+३=१४ गाउँ मेरो ज्यामिरे जमुनीको छोरो म), सवाइ छन्द (४+४+४+२=१४ वर्षा याम एक दिन ठुलो पानी पर्यो), झ्याउने छन्द (३+२+३+२+३+३=१६ हातका मैला सुनका थैला के गर्नु धनले) आदिका उदाहरण र प्रयोग सहित विशद चर्चा गर्नु भयो ।


साश्त्रीय छन्दहरूका सूत्रका बारेमा समेत चर्चा गर्नु भयो । गद्य कविताको लय निर्माणका सम्बन्धमा समेत चर्चा गर्दै भाषिक विचलन वा व्यतिक्रम, आनुप्रासिक अन्तर्गुञ्जन, अभिव्यक्तिगत वक्रता, तर्कपूर्ण नवीन जीवन दृष्टि; विम्ब, प्रतीक र मिथकहरूको प्रयोगमा ध्यान दिन सकियो भने मात्र कविता हुन्छ भन्ने थुप्रै दृष्टान्तहरू समेत दिनु भयो ।


थोरै समयाभाव भएका कारण पर्याप्त अन्तरक्रिया सम्भव भएन र प्रमुख अतिथि पूर्व मन्त्री शान्ता मानवीले यस्तो ऊर्जामूलक, सरल, सूत्रात्मक र साहित्य साधनाका क्षेत्रमा क्रियाशील हरेक मान्छेलाई ज्यादै उपयोगी हुने कार्यक्रममा सरिक हुने अवसर प्राप्त भएकोमा आयोजकलाई र कुशल प्रशिक्षक डा.देवी नेपाललाई हार्दिक धन्यवाद दिनु भयो । यस्तो अत्यन्तै महत्त्वपूर्ण कार्यशाला थोरै समयको नभएर पुरा दिनभरिको अर्थात् कम्तीमा ५–६ घण्टाको आयोजना गरिनु उपयुक्त हुने सुझाब समेत दिनु भयो ।

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । यसले हरेक महिना कुनै न कुनै विशेष समसामयिक विषयमा परिचर्चा गर्ने गर्दछ । आजको यो शृङ्खलामा हामीले साहित्य साधनामा लागेका स्रष्टालाई सिर्जना कसरी गर्ने र सुन्दर कसरी पार्ने भन्ने विषय आवश्यक छ भन्ने ठान्यौँ त्यसका लागि कुशल अभियन्ता डा.देवी नेपाललाई रोज्यौँ, सहकार्यका लागि सांस्कृतिक संस्थानलाई अनुरोध गर्यौँ । सबै सबैको हार्दिक सहयोग प्राप्त भयो, आमन्त्रण स्विकार गरी स्थापितदेखि नयाँ पुस्ता आइ दिनु भयो

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *