जन साहित्यिक मञ्च, नेपाल, काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशन सम्पन्न

रमेश पोखरेल, काठमाडौं

२०७२ फागुन २२ गते शनिवार बिहान ११ बजे वाल्मीकि क्याम्पसको सभाकक्षमा जन साहित्यिक मञ्च, नेपाल, काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । जसाम काठमाडौँ जिल्ला अध्यक्ष बालमुकुन्द कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनको प्रमुख अतिथि जन साहित्यिक मञ्च, नेपालका केन्द्रीय अध्यक्ष राम विनय हुनु हुन्थ्यो भने अतिथिहरूमा वरिष्ठ प्रगतिवादी कवि प्राज्ञ पूर्ण विराम, वरिष्ठ कवि एवम् जन साहित्यिक मञ्च नेपालका सल्लाहकार कणाद महर्षि, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका सहकोषाध्यक्ष जङ्ग पहाडी, महासङ्घ केन्द्रीय सदस्य डा.षडानन्द पौडेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्र निरौला, जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेल, मञ्चकी उपाध्यक्ष एवम् प्राज्ञ गायत्री विष्ट, प्राज्ञ सानु पहाडी; वरिष्ठ कवि, गीतकार तथा सङ्गीतकार डम्बर पहाडी, जन साहित्यिक मञ्च, नेपालका केन्द्रीय सदस्यद्वय प्रेम सिलवाल र प्रकाश सिलवाल, मञ्चकी केन्द्रीय कोषाध्यक्ष यशोदा अधिकारी उपस्थित हुनु हुन्थ्यो ।

image

प्रमुख अतिथि राम विनय र सभाध्यक्ष बालमुकुन्द कार्कीले संयुक्त रूपमा दुइटा मैनबत्ती प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो भने गीता सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो । दुई सत्रमा सञ्चालन गरिएको उक्त अधिवेशनको पहिलो सत्र विशेष कविगोष्ठीका रूपमा सम्पन्न भयो । जसमा कविहरू प्रेम सिलवाल, रामकुमार पण्डित, बैरागी जेठा, परशुराम पराजुली पराशर, पूर्ण विराम, मुकुन्द न्यौपाने, प्रभाती किरण, भोलानाथ सुवेदी, रामचन्द्र खतिवडा, रमेश पोखरेल, गङ्गा पौडेल, सानु पहाडी, डम्बर पहाडी, जङ्ग पहाडी, नारायण निरासी, यशोदा अधिकारी, प्रशान्त खरेल, कणाद महर्षि, गायत्री विष्ट र देवकुमारी लुइटेलले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

पहिलो सत्रको सभापतित्व गरि रहनु भएका बालमुकुन्द कार्कीले तिन बर्से कार्यकालका लागि निर्वाचित भएको कार्य समिति प्राकृतिक प्रकोप, नाकाबन्दी जस्ता विशेष कारणले लम्बिन गएको भए पनि केही उल्लेख्य काम गर्न सकिएको र अब आउने नेतृत्वले थप प्रभावकारी कार्य सम्पादन गर्ने विश्वास व्यक्त गर्नु भयो र पहिलो सत्र समाप्त भएको, कार्य समिति विघटन भएको जानकारी दिनु भयो र डा.षडानन्द पौडेल अध्यक्ष, रमेश पोखरेल र यशोदा अधिकारी सदस्य रहेको अध्यक्ष मण्डलको प्रस्ताव गर्नु भयो ।

अध्यक्ष मण्डलले दोस्रो सत्रको प्रारम्भ गर्दै काठमाडौँ जिल्ला समितिका संस्थापक अध्यक्ष प्रकाश सिलवाललाई शुभ कामना मन्तव्यका लागि अनुरोध गर्यो । उहाँले सहयात्राका माध्यमबाट सङ्गठनका गतिविधि प्रभावकारी पार्न सकिने र केन्द्रले पनि तोकेरै कार्यक्रम गर्ने निर्देशन दिने र सहकार्य गर्ने कार्य गरे जिल्ला समितिले कार्य सम्पादन गर्न सक्ने बताउनु हुँदै अधिवेशनको सफलताको कामना गर्नु भयो । डा.षडानन्द पौडेलले हामी अग्रजले नयाँ पुस्तालाई वैचारिकता सहितको सिर्जनाका पक्षमा प्रशिक्षित पार्नु पर्ने, अरूलाई आकर्षित गर्ने खालको लेखन, विचार तथा प्रशिक्षण चलाउनु पर्ने आवश्यकता रहेको हुँदा त्यसतर्फ सचेत भएर सङ्गठनका गतिविधि अगाडि बढाउन सफलता मिलोस् भन्ने शुभ कामना दिनु भयो । प्रमुख अतिथि राम विनयले काठमाडौँ देशकै केन्द्र भएकाले अरू जिल्लाले समेत काठमाडौँको मुख ताक्ने हुँदा सङ्गठनलाई गतिशील पारी उदाहरण प्रस्तुत गर्नु पर्ने, जन पक्षीय धार निर्माण गर्दै सामाजिक रूपान्तरणको अभियानलाई सशक्त पार्नु पर्ने र अन्य विचारसँग प्रतिस्पर्धा गर्न सक्नु पर्ने हुँदा त्यो दिशामा अब निर्वाचित कार्य समिति सफल होस् भन्ने शुभ कामना दिनु भयो ।

सचिव रूपक अलङ्कारले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष परशुराम पराजुली ‘पराशर’ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । ती प्रतिवेदनमाथि डा.फणीन्द्र निरौला, जगत् वाशिष्ठ र डम्बर पहाडीले छलफल गर्नु हुँदै केही सुझाब प्रस्तुत गर्नु भयो र ती सुझाब उपयुक्त भएकाले समेटेर प्रतिवेदन परिष्कार गर्ने निष्कर्ष सहित दुबै प्रतिवेदन पारित गरिए ।

त्यसपछि निर्वाचनतर्फ अधिवेशन मोडियो । अध्यक्ष मण्डलका सदस्य रमेश पोखरेलले यो वैचारिक सङ्गठन भएको, देशभरका ४२ ओटा जिल्लामा सङ्गठन क्रियाशील रहेको हुँदा ढिलोचाँडो सबैले सङ्गठनको जिम्मेवारी लिनु पर्छ तसर्थ नेतृत्वका लागि विवाद नगरी सर्वसम्मतिले चयन गर्न सके राम्रो हुने धारणा सहित निम्नानुसार नाम प्रस्ताव गर्नु भयो –
१. रुपक अलङ्कार  – अध्यक्ष
२. परशुराम पराजुली ‘पराशर’ – उपाध्यक्ष
३. गीता सापकोटा  – सचिव
४. देवकुमारी लुइटेल         – सहसचिव
५. रामकुमार पण्डित क्षेत्री  – कोषाध्यक्ष
६. प्रशान्त खरेल  – सदस्य
७. गङ्गा पौडेल  – सदस्य
८. रामचन्द्र खतिवडा  – सदस्य
९. इन्दु अंशु          – सदस्य

उपर्युक्त प्रस्ताव सर्वसम्मतिले पारित गरियो । अध्यक्ष मण्डलका अध्यक्षले सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनु भएको घोषणा गर्नु भयो र बधाई दिँदै अबिर लगाइ दिनु भयो साथसाथै शपथ ग्रहण समेत गराउनु भयो ।

निवर्तमान अध्यक्ष बालमुकुन्द कार्कीले निर्वाचित अध्यक्ष रूपक अलङ्कारलाई सङ्गठनको माइन्युट अर्पण गरी जिम्मेवारी हस्तान्तरण गर्नु भयो भने राम विनयले नव निर्वाचित पदाधिकारीलाई बधाई दिनु भयो ।

नव निर्वाचित अध्यक्ष रूपक अलङ्कारले विज्ञ र परिपक्व मित्रहरू निर्वाचित हुनु भएको हुँदा धेरै ठुला महत्वाकाङ्क्षाका कुरा नगरी सबैको सहयोगका कार्य सम्पादन गर्ने, २०६७ सालमा सदस्यका रूपमा प्रवेश गरेको आफूले यति चाँडै अध्यक्षको जिममेवारी लिनु पर्ला भन्ने नसोचेको तर यो अवसरलाई भरोसाका रूपमा लिएको हुँदा केही न केही गरेर देखाउने वचनवद्धता जाहेर गर्नु भयो र सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अधिवेशन समापन भएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *