साहित्य सन्ध्यामा ‘नेपाली साहित्यमा प्रयोगशीलता’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको विगत दुई वर्षदेखि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएर प्रविधिमैत्री गर्ने गरिएको तर २०७९ को नववर्षदेखि भौतिक उपस्थितिमा सम्पन्न गर्नलागिएको सन्ध्याको मासिक गोष्ठीको ४२९ औँ शृङ्खला असार ४ गते शनिबार अपराह्न १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा विशेष गोष्ठीसहित ‘नेपाली साहित्यमा प्रयोगशीलता’ विषयमा परिचर्चाको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा प्रा.डा.कृष्णहरि बराल उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा प्राज्ञ विष्णु प्रभात उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा वरिष्ठ साहित्यकार रामबहादुर पहाडी, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, प्रा.डा.खेम दाहाल, वरिष्ठ स्रष्टाहरू कणाद महर्षि र डम्बर पहाडी, सीताराम पद्मकुमारी ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल, प्रगतिशील लेखक सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष ज्ञानु विद्रोही, प्रलेस भक्तपुर अध्यक्ष गणेश घिमिरे ‘मार्मिक’, स्रष्टा सुशीला प्रधानाङ्ग, डा.नारायण चौलागाईँ, साहित्यकार जयन्ती स्पन्दन र डा.विनोद ढकाल उपस्थित हुनुहुन्थ्यो ।


साहित्य सन्ध्याका सदस्य प्रशान्त खरेलको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि प्रा.डा.कृष्णहरि बरालले ‘नेपाली साहित्यमा प्रयोगशीलता’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२९ औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन भएको साहित्य सन्ध्याको आजको यो विशेष शृङ्खलामा प्रबुद्ध व्यक्तिहरूका माझ आफ्ना धारणा राख्ने अवसर प्राप्त भएको छ । केही विद्वानहरूले ‘साहित्य आफैँमा प्रयोग हो’ भन्ने मान्यता अघि सारेका छन् । परम्परित प्रयोग वा मान्यताभन्दा फरक धार आयो भने प्रयोगशील मान्ने पनि प्रचलन रहेको छ । केही परिवर्तन नभई प्रयोग नहुने भन्ने मान्यता पनि छ । एउटा घरको निर्माणमा पनि तलको तलाभन्दा माथिको तलामा पृथकता रहन्छ त्यसैले लेखिराखिएको एउटा ढाँचामा फरक आउनु नै प्रयोगशीलता हो । शङ्कर लामिछानेले ‘खै बुझिँदैन’ शीर्षकको निबन्ध नै लेखे । माओले कविता सरल हुनुपर्छ, सर्वसाधारणले बुझ्ने हुनुपर्छ तर कविताले क्रमशः आममानिसको चेतनाको स्तर पनि उठाउनुपर्छ भन्ने मान्यता अघि सारेका छन् । अर्थात् साहित्यमा भाषिक विशिष्टता आवश्यक हुन्छ । लेखनको शैली आत्मपरक र वस्तुपरक हुन्छ । साहित्यमा काव्यात्मक सत्य र यथार्थ सत्य हुन्छ । काव्यात्मक सत्य सर्वस्वीकार्य पनि हुन्छ, सत्यकै वकालत गर्छ । दार्शनिक प्लेटो स्रष्टासँग डराएका कारण पनि कवि सर्वशक्तिमान् हुन्छ भनेर नै हो । फ्रायडले आफ्नो लेखनमा पितृरति ग्रन्थीको कुरा उल्लेख गरेकाले अर्काे प्रयोग मानियो । एडिपसको कथाका माध्यमबाट आमाप्रतिको प्रेम र बाबुप्रतिको द्वन्द्व देखाएर अर्काे प्रयोग गरिएको छ भने एलेक्ट्रा कम्प्लेक्समा बाबुछोरीको प्रेम र आमासँगको द्वन्द्व देखाएर अर्काे प्रयोग गरिएको छ । कुनै पनि कृति कसै न कसैको पढेर वा सुनेर लेखिन्छ र अरूभन्दा भिन्न बन्ने चाहनाले प्रयोगधर्मी बनाउँछ । एउटा केन्द्रभन्दा अर्काे केन्द्र बन्नु नै प्रयोगशीलता हो । उदाहरणका लागि लक्ष्मीप्रसाद देवकोटा, भूमि शेरचन, मोहन कोइरालालाई फरक फरक प्रयोगका माध्यमबाट लेखनमा स्थापित स्रष्टा मान्दछौँ तर प्रयोगधर्मी बन्न इतिहास भने जान्नैपर्दछ, अध्ययन गर्नै पर्दछ । गोपालप्रसाद रिमालले गद्यकविता लेखेर फरक प्रयोग गरे । सिर्जनामा के छ ? र कसरी ? भन्ने प्रश्न आउँछ, त्यसमा स्रष्टाले फरक शैलीको प्रयोग गर्यो भने प्रयोगशीलता हुन्छ तर प्रयोग गर्नु आफैँमा जटिल कुरा हो । शङ्कर लामिछानेमा चेतना प्रवाहको शैली फरकरूपमा प्रयोग भएको छ । चेतन र अवचेतनका बिचमा द्वन्द्व हुन्छ र त्यही कुरा स्रष्टाको लेखनमा आउँछ । चाहे पूर्वमा होस् या पश्चिममा परम्परित मान्यताभन्दा फरक हुनेबित्तिकै प्रयोगशीलता हुन्छ । विषयवस्तुको छ्यासमिस भएपछि दुर्बाेध्य हुन्छ, प्रयोगशील भइदिन्छ । लेखक स्वयम्ले नयाँ मिथकको निर्माण पनि गरिदिन्छ । जस्तै अग्निदत्त+अग्निदत्त शीर्षकै प्रयोगधर्मी छ । ‘दोषहीन मान्छे हुँदैन’, ‘पुलिसको कामै मान्छेलाई समाउने र थुन्ने हो’ जस्ता यथार्थ अभिव्यक्ति हुन् वा भ्रममा पार्ने वा अल्मल्याउने कुराले प्रतीकात्मक बनाइदिन्छ, प्रयोगधर्मी बनाइदिन्छ । सिर्जनामा पुनरावृत्तिले मात्र हुँदैन नवीनता दिनुपर्छ । विधा मिश्रण वा विभिन्न प्रकारका प्रयोगले प्रयोगधर्मी बनाइदिन्छ जस्तै इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’ कथा । अत्यन्त अवचेतनको प्रकटीकरण स्वभाविक हुँदैन । यस्तो अवस्थामा लेखनमा इद, इगो र सुपर इगो आउँछन् । प्रयोग सिर्जनाको रूपमा पनि हुनसक्छ, विषयमा पनि हुनसक्छ । कथानकहीन कथा लेखिन्छन् । अकथा, अउपन्यास भनिएका छन् । गोविन्द गोठालेको ‘लक्षहीन’लाई नाटक भनिएको छ तर त्यो निबन्ध हो किनभने नाटकमा द्वन्द्व हुनुपर्छ तर लक्षहीनमा द्वन्द्व छैन विचार छ । बसाइँ उपन्यासको धनबहादुर पात्रका माध्यमबाट पनि प्रयोगधर्मिता देखाइएको छ । समय परिस्थितिले विषय परिवर्तन गरिदिन्छ र अर्काे प्रयोग गराइदिन्छ । आख्यानको पनि आख्यानलाई अधिआख्यान भनिएको छ । विपीको ‘राइटर बाजे’ कथामा पछाडि भनिने कुराको सङ्केत अर्थात् फ्ल्यास फरवार्ड गरिएको छ । जीवाष्म’ कथामा ब्याक स्टोरीको प्रयोग गरिएको छ । गुरुप्रसाद मैनालीको कर्तव्य कथामा अविश्वसनीय समाख्याताको प्रयोग गरिएको छ । मिश्रित दृष्टिविन्दुको प्रयोग गर्ने प्रचलन पनि देखिएको छ । ध्रुवचन्द्र गौतमको ‘उपसंहार तथा चौथो अन्त्य’मा सारविन्दु पनि प्राथमिक, द्वितीय र वैकल्पिक पार्ने प्रयोग गरिएको छ । गम्भीर कुरालाई पनि हाँसउठ्दो पाराले भन्ने ब्ल्याक ह्युमरको प्रयोग देखिएको छ । यथास्थितिको प्रकटीकरण सोझोरूपमा वा रूपान्तरणका पक्षमा लेखिने प्रगतिशीलताको प्रयोग भएको छ । साहित्य भनेको शब्दहरूको खेल हो त्यसैले शैली फरक पर्नु स्वभाविक पनि छ र पार्नु जरुरी पनि छ तर प्रयोग चुनौतीपूर्ण हुन्छ । विम्ब, प्रतीक र अलङ्कारले सिर्जनालाई सजाउनुपर्दछ । बन्दाकोबीको पात झिकेजस्तो पत्र पत्रमा सुन्दरता अभिव्यक्त हुनुपर्दछ । साथै प्रयोगशीलता भनेको आँटको कुरा पनि हो । साहित्य लेखन आफैँमा प्रतिस्पर्धा हो, सुन्दर पार्ने प्रतिस्पर्धा स्रष्टा आफैँसँग पनि हुन्छ त्यसैले सिर्जनामा शैलीगत नवीनता आवश्यक हुन्छ । साहित्य समाजोपयोगी र कलात्मक हुनुपर्छ । हामीले यस्तो बिरुवा रोपाँै जसले पूmल फुलेर सुवास पनि देओस् र मिठो फल पनि देओस् भन्ने मान्यता स्रष्टाले राख्नुपर्दछ, त्यसका लागि प्रयोगशीलता आवश्यक पनि छ भन्ने धारणा राख्नुभयो ।


गोष्ठीमा डा.नारायण चौलागाईँ, कणाद महर्षि, गोपालकुमार मैनाली, विन्दु अधिकारी ढकाल, विनोद दाहाल ‘वत्स’, ओमप्रसाद कोइराला, मुकुन्द ढकाल, नवराज जोशी, गणेश घिमिरे ‘मार्मिक’, मुकुन्द न्यौपाने, रमेश गौतम ‘पाल्पाली’ कुमार नेपाल, बैरागी जेठा, प्रलिसा अधिकारी, सुशीला प्रधानाङ्ग, राम विनय, डम्बर पहाडी, मिसन अधिकारी, ज्ञानु विद्रोही, डा.विनोद ढकाल, रामबहादुर पहाडी, वासुदेव अधिकारी र डा.खेमनाथ दाहालले आआफ्ना कविता, गीत, मुक्तक, गजल, एलाक वाचन÷गायन गर्नुभएको थियो ।


वाचित सिर्जनामाथि साहित्यकार जयन्ती स्पन्दनले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा ‘नेपाली साहित्यमा प्रयोशीलता’ विषयमा विशद परिचर्चा भयो । आजको यो समारोहमा तेइसओटा रचना वाचित भए । साहित्य सन्ध्या आफैँमा एउटा कार्यशाला हो र यसले धेरै स्रष्टा उत्पादन गरेको छ । आज वाचित सबै रचना समसामयिक छन्, प्र्रतीकात्मक छन् । सिर्जनामा आफ्नो स्वार्थका निम्ति सबै सबै कुरा विक्री गर्ने मानवीय प्रवृत्ति तथा राजनैतिक विकृतिका प्रति निर्मम प्रहार भएको छ । सिर्जनाका नाममा अनेक खाले हाँगाबिँगामा अल्मलिनु वा बरालिनुभन्दा कविता नै लेखौँ न भन्ने गम्भीर आग्रहसमेत गरिएको छ । कवितामा गाउँले परिवेशदेखि सहरिया चित्रणसमेत गरिएको छ । फरक रङ र प्रवृत्तिका मान्छेका बिचबाट श्रेष्ठताको खोजी गरिनुपर्ने आग्रह गरिएको छ । कवितामा आमाको महानता र महत्तागान गाइएको छ र आमाको समर्पण भावको उच्च मूल्याङ्कनको सन्देश सम्प्रेषण गरिएको छ । कुनाकन्दराका दुःखका अभव्यक्तिका माध्यमबाट देश दुखेको अभिव्यञ्जना सम्प्रेषण गरिएको छ । तालीले कोही कसैलाई फुर्काउने मात्र होइन कहिलेकाहीँ अपमान पनि गर्ने हुँदा सचेत हुनुपर्ने सन्देश सम्प्रेषण गरिएको छ । आध्यात्मिक चिन्तनलाई समाजोपयोगी पार्नुपर्ने र स्रष्टाहरूले पनि आफ्ना कुरा लाद्ने, आफ्नो सिर्जना सुनाउने र हिँड्ने प्रवृत्ति मौलाएको प्रति गम्भीर व्यङ्ग्य गरिएका कविता पनि वाचित भएका छन् । जीवन भनेकै सिकाइ हो र जीवनभरि सिकि नै रहिने यथार्थलाई पनि कविताले उजागर गरेको; भ्रष्टाचार मौलाएको प्रति विरोध गर्दै भ्रष्टाचारीलाई निषेध गर्नुपर्ने आग्रह पनि कवितामा गरिएको छ । इतिहासलाई बुझेर र मानवजीवनचक्रलाई पनि बुझेर अघि बढ्नुपर्ने आग्रह गरिएको छ । एलाकका माध्यमबाट समाजमा मौलाएका विसङ्गत र विकृत प्रवृत्तिका प्रति विरोध गरिएको छ, रूपान्तरणको आग्रह गरिएको छ । गेयात्मक सुन्दर गजलहरू वाचित भएका छन् । राष्ट्रियता, मातृत्वप्रेमका प्रति समवेदनशील हुनुपर्ने आग्रह कवितामा गरिएको छ । भविष्यप्रतिको चेतना नहुने हो भने के हुन्थ्यो भन्ने प्रश्न गर्दै नवीन शैलीको कविता पनि आज वाचित भएको छ । सिर्जनामा सचेतना, सामाजिक राजनीतिक विसङ्गतिको पीडा सशक्तरूपमा अभिव्यक्त भएको छ । विज्ञानका नियमलाई तलमाथि पार्ने र स्वार्थप्रेरित हुने प्रवृत्तिले नकारात्मक परिणति ल्याउने हुँदा त्यसतर्फ वेलैमा सचेत हुनुपर्ने आग्रह गरिएको छ । स्रोत र साधनको दुरुपयोगका प्रति चिन्ता जाहेर गरिएको छ । आफ्ना सिर्जनालाई सशक्त पार्नका निम्ति परिष्कारको त जहिल्यै आवश्यकता पर्ने नै भए पनि समग्रमा आजको गोष्ठी निकै महत्त्वपूर्ण रहेको छ । बालकविताका माध्यमबाट जनावर र मानवको मिलनको अपेक्षा गरिएको छ र त्यसमा बाघको विम्ब आएको छ । किशोरकिशोरीको सचेतनाका पक्षमा सिर्जना गरी के ठिक हो र के बेठिक हो भन्ने चेतना दिनु आवश्यक छ भन्ने पक्षमा पनि लेखन सोझिनुपर्दछ भन्ने धारणा राख्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि, विशेष अतिथिज्यू, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । स्रष्टाहरू आलोचनात्मक चेतले युक्त हुने भएकाले उनीहरूलाई प्रतिपक्ष भनिएको हो । देखेको लेख्ने र रूपान्तरणका पक्षमा आबाज उठाउने भएकाले स्रष्टा चेतनशील हुन्छ र ऊ राजनीतिनिरपेक्ष पनि हुनसक्दैन । आजको गोष्ठीमा बहस गरिएको प्रयोगशीलता स्रष्टाहरू र आफैँमा आवश्यक छ । कविहरू सम्वेदनशील हुन्छन् । अहिले हामी साम्राज्यवादले हस्तक्षेप गर्नखोजिरहेको नियति भोग्दै छौँ त्यसका लागि हामी स्रष्टाले सशक्त हस्तक्षेप गर्ने र आफ्ना सिर्जनामा नाङ्गो हस्तक्षेपको विरोध गरिनु आवश्यक छ । साहित्य सन्ध्याले आफ्ना शृङ्खलामा माइकको प्रयोग गरेको नदेखेका कारण गुणग्राही स्रष्टा मुकुन्द ढकालले ओसारपसार गर्नमिल्ने माइक नै किनेर ल्याई उपहार दिनुभएकोमा उहाँलाई हार्दिक धन्यवाद प्रकट गर्दछौँ, आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हामी यसैगरी हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार हुने सन्ध्याको विशेष समारोहमा उपस्थितिका लागि अनुरोध गर्ने छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.