साहित्य सन्ध्यामा ‘प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको नियमित मासिक ३६९ औँ शृङ्खला माघ १ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयक परिचर्चा तथा कविगोष्ठी गरिएको थियो । उक्त विशेष गोष्ठीमा प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ सुलोचना मानन्धर, दार्शनिक गोपिरमण उपाध्याय, प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रा.डा.खेम दाहाल, डा.घनश्याम परिश्रमी, ब्रह्मप्रिय प्रेमस्वरूप, कणाद महर्षि, ललित बस्नेत ‘भिमाली’, रामबहादुर पहाडी र नरेश शाक्य अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

15542130_810661685741715_6881054732910320892_n
बेलायती कवि टामस हार्डीको १०० वर्षभन्दा पुरानो ‘राष्ट्र टुट्ने समयमा’ शीर्षकको अनुवाद कविता साहित्य सन्ध्याका लागि पूर्ण विरामले पठाउनु भएको र त्यसलाई साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले वाचन गरेर गोष्ठीको शुभारम्भ गर्नु भएको थियो ।
गोष्ठीका अतिथि प्राज्ञ नर्मदेश्वरी सत्यालले ‘प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयमा विशद चर्चा गर्नु हुँदै प्राचीन कालमै महिला लेखनको थालनी भएको भए पनि लगभग शून्यको अवस्थामा रहेको, माध्यमिक कालमा पनि महिला लेखनले गति लिन नसकेको र आधुनिक कालदेखि भने महिला लेखन अगाडि बढेको पाइन्छ । योगमायालाई प्रगतिशील महिला स्रष्टाका रूपमा मानिएको छ र पारिजातको उत्तराद्र्धको जीवन प्रगतिशील हुँदे प्रगतिवादसम्म पुगेको भए पनि प्रगतिवादी महिला स्रष्टाको उल्लेख्य सङ्ख्या अहिलेसम्म पनि देखा पर्दैन । पाश्चात्य समाजले पनि नारीलाई कमजोर ठानेको पाइन्छ । हाम्रो समाजको कुरा गर्दा पुरुषको एकाङ्की सोचका कारण महिलाहरू पछाडि परेका छन् । समाजमा महिलाले भोगेका र भोगि रहेका पीडालाई महिलाहरूकै उद्देश्यमूलक लेखन र एकताका माध्यमबाट, पुरुषहरूकै सहकार्यबाट उजागर गर्ने र रूपान्तरण गर्ने कार्य गर्न सकिन्छ । पीडाको भोगाइको कोणबाट हेर्दा भने महिला बराबरको भोगाइ पुरुषको नभएको र अद्यापि महिलाले पीडा भोगि रहेकै छन् । समाज अहिले अगाडि बढ्यो भनिए पनि समाजमा रुढिवाद र अन्ध विश्वास जस्ताको तस्तै रहेको पाइन्छ । समाजका यावत विकृतिका विरुद्धमा महिला र पुरुषको समान सहभागिताका माध्यमबाट एकजुट भएर खनिने हो भने समाज रूपान्तरण हुन सक्छ र घर परिवारको सहयोगविना महिला लेखन समेत अभिवृद्धि हुन नसक्ने हुँदा हातेमालो आवश्यक छ भन्ने धारणा राख्नु भयो ।

15977441_828784147262802_958507337580535466_n
गोष्ठीमा कविहरू ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, ब्रह्मप्रिय प्रेमस्वरूप, पूर्ण विराम (वाचन राम विनयले), गोपाल नेपाल (मुसहरी भाषाको), कात्यायन, गोपालकुमार मैनाली, डा.देवी नेपाल, गणेश घिमिरे ‘मार्मिक’, बलराम विष्ट, कणाद महर्षि, निर्भीक राई, आनन्दराम पौडेल, प्रदीपरत्न शाक्य, गोविन्दप्रसाद आचार्य, बालकृष्ण उप्रेती, ललित बस्नेत ‘भिमाली’, प्रा.डा.खेम दाहाल, भोलानाथ सुवेदी, प्रदीप मैनाली, तोया भट्ट, डम्बर पहाडी, भावना न्यौपाने, अभ्यस्त यात्री, चूडा निर्भीक, तारा गाउँले, जङ्ग पहाडी, रामबहादुर पहाडी, अनिता लामा, कुशुम शर्मा, उर्मिला पन्त पाण्डेय, देबु लुइटेल, नरेश शाक्य, शिक्षा नेपाल, स्वागत नेपाल, जयन्ता पोखरेल, डा.घनश्याम परिश्रमी, अच्यूत घिमिरे, रामचन्द्र खतिवडा, गोविन्द नेपाल र राम विनयले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भयो ।
वाचित कवितामाथि टिप्पणी गर्नु हुँदै प्राज्ञ सुलोचना मानन्धरले कवि ईश्वर हो भनिएको छ । कवि भनेको भविष्य द्रष्टा पनि हो । साहित्य सन्ध्या चाहिँ आफैँमा नदी जस्तै प्रवाह हो । आज वाचित सबै कविताहरू सुन्दर लागे । शब्दविनाका, शब्द सहितका, स्वरका र स्वरविनाका कविता वाचित भए । प्रायः कविताले देशभक्तिको भाव सम्प्रेषण गरेका छन् । देशको पीडा र देश दुखेको अभिव्यक्ति सुन्दरताका साथ अभिव्यक्त गरेका छन् भन्नु हुँदै प्रायः कविताको चर्चा समेत गर्नु भयो र गोष्ठी सार्थक भएको मूल्याङ्कन गर्नु भयो ।
गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । यसले हरेक महिना कुनै न कुनै विशेष समसामयिक विषयमा परिचर्चा गर्ने गर्दछ । आजको यो शृङ्खलामा हामीले ‘प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयक विशेष परिचर्चा तथा कविगोष्ठी सम्पन्न गरेका छौँ, प्राज्ञ नर्मदेश्वरी सत्यालले विशद चर्चा गरि दिनु भएको छ । आगामी शृङ्लामा सम्भवतः हामी ‘कविता लेखन तथा वाचन कार्यशाला’को आयोजना गर्ने तयारी गर्दै छौँ । आज यो माघे सङ्क्रान्तिको दिनमा हाम्रो निम्ता स्विकारेर प्राज्ञहरू नर्मदेश्वरी सत्याल र सुलोचना मानन्धर आइ दिनु भयो, स्रष्टाहरू आइ दिनु भयो र एकचालिस स्रष्टाका सिर्जना वाचित भए । वाचित सिर्जनामाथि प्राज्ञ सुलोचना मानन्धरले मसिनो गरी टिप्पणी गरि दिनु भई स्रष्टालाई आफ्ना सिर्जनामा निखार ल्याउन सहयोग पुर्याइ दिनु भयो । सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु भन्नु हुँदै गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *