साहित्य सन्ध्यामा ‘समसामयिक विषयसँग सम्बन्धित’ रचना वाचन गरी प्रविधिमैत्री ४११ औँ विशेष कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४११ औँ शृङ्खला पुस ४ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।


वरिष्ठ कवि एवम् साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा झापाका वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, डा.राजेन्द्रप्रसाद अधिकारी, डा.बालचन्द्र मिश्र, सीताराम नेपाल, सन्ध्याका सल्लाहकार विधान आचार्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


सकेसम्म मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई सिर्जनावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको प्रविधिमैत्री गोष्ठीमा इलामदेखि नेपालगन्जसम्मका कविहरूको उपस्थिति रहेको थियो । जसअनुसार उर्मिला पन्त पाण्डेय, पुष्पमणि प्रधान नेपालगन्ज, बालकृष्ण लामिछाने इलाम, पुण्यप्रसाद खरेल झापा, प्रमोद स्नेही, डा.राजेन्द्रप्रसाद अधिकारी, सम्पत काफ्ले, गणेश घिमिरे ‘मार्मिक’, ललिता दोषी, सीताराम नेपाल, डा.बालचन्द्र मिश्र, डा.सावित्री श्रेष्ठ, गोपाल मैनाली, विधान आचार्य, वैरागी जेठा, राम विनयलगायतले आआप्mना समसामयिक कविता, गीत, गजल, हाइकु वाचन गर्नुभयो । डिल्लीराज अर्याललगायतका केही स्रष्टा उपस्थित हुनुभएर पनि प्रविधिले साथ नदिएका कारण रचना वाचन गर्नसक्नु भएन । केही स्रष्टालाई प्रविधिले साथ नदिएका कारण जोडिन नै समस्या परेको थियो ।


सन्ध्याका सल्लाहकार विधान आचार्यले साहित्य सन्ध्याको हरेक महिना ठिक १ बजे सुरु हुने शृङ्खलामा ठिक समयमा जोडिने प्रयत्न हामीले गर्नुपर्ने भन्नुहुँदै आज प्रविधिले किन हो धरै साथ नदिएका कारण थोरै जोडिन सकिएको भए पनि उपस्थिति र वाचित रचना गुणात्मक रहेका धारणा राख्नुभयो ।


साहित्य सन्ध्याका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री गोष्ठीमा पूर्वको इलामदेखि नेपालगन्जसम्मका स्रष्टाहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । प्रविधिको प्रयोग र व्यवस्थापनमा साहित्य सन्ध्याका सल्लाहकार एवम् वरिष्ठ कवि विधान आचार्यको सहयोग महत्त्वपूर्ण रहेको छ । स्रष्टाहरूले आआफ्ना कविता, गीत, गजल, हाइकु वाचन गर्नुभएको छ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रविधिसँग जोडिएर सहभागी भइदिनुहुने र सिर्जना वाचन गरी खबरदारी गर्नुहुने सबै स्रष्टामा हार्दिक धन्यवाद दिनचाहन्छु । किन हो आज धेरै स्रष्टालाई जोडिनका लागि प्रविधिले साथ नदिएको जानकारी पाइयो, अर्काे शृङ्खलामा हामी सबै जोडिने छौँ । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट समग्र समसामयिक विषयमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर आजको गोष्ठीले हामीलाई प्रदान गरेको छ । आज उपस्थित अतिथि, स्रष्टा र उहाँहरूका सिर्जनाका लागि हार्दिक धन्यवाद दिन्छु । अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.