‘चिन्तन–स्टेसन’मा संरचनात्मक लाभांशमाथि विमर्श

काठमाडौं । ‘चिन्तन–स्टेसन’को पहिलो शृङ्खलामा डा. सञ्जीव उप्रेतीको पछिल्लो पुस्तक ‘संरचनात्मक लाभांश’माथि विमर्श तथा अन्तरक्रिया पद्मकन्या क्याम्पस, बागबजारमा सम्पन्न भएको छ।

कार्यक्रममा समाजशास्त्री तिलक विश्वकर्माले पुस्तकको समीक्षा गर्दै दलित र गैरदलितलाई पक्ष र विपक्षका रूपमा प्रस्तुत गर्नु गलत भएको बताए। आन्दोलनमा लाभांश पाएकाहरू नै सहभागी भएमा विभेदको अन्त्य हुन सक्ने उल्लेख गर्दै उनले मानिसलाई पशुभन्दा तल्लो स्थानमा राख्ने सामाजिक संरचना भत्काउनुपर्ने धारणा राखे। संरचना दोषी भए पनि त्यसलाई निरन्तरता दिने व्यक्तिहरूको भूमिका पनि जिम्मेवार हुने उनको भनाइ थियो।

वक्ता शोभा महतोले महिलाको सहभागिताबारे चर्चा गर्दै निर्वाचित महिला सांसदको संख्या तीन प्रतिशत मात्र रहेको तथ्य प्रस्तुत गरिन्। प्रदेश तथा स्थानीय तहमा पनि महिलाको प्रतिनिधित्व न्यून रहेको र मधेसमा अवस्था अझ कमजोर देखिएको उनले बताइन्। संरचनात्मक लाभांश बढी पाउने समुदायमा आत्मविश्वासको स्तरसमेत बढी हुने उल्लेख गर्दै उनले लाभांश पाउनेहरू बढी संवेदनशील बन्नुपर्ने धारणा राखिन्।

नारायणी देवकोटाले घरघरमा महिलामाथि हुने हिंसा र त्यसविरुद्ध अघि बढ्न महिलाले भोग्नुपर्ने कठिनाइबारे चर्चा गरिन्। महिलाको सफलताका लागि पुरुषको सहयोग पनि आवश्यक रहेको बताउँदै उनले हिंसाका घटनामा व्यक्ति मात्र नभई त्यसलाई जन्म दिने सामाजिक संरचनाको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गरिन्।

अन्तरक्रियाका क्रममा लेखक डा. सञ्जीव उप्रेतीले संरचनात्मक लाभांशबारे छलफल गर्दा सबैभन्दा पहिले आफ्नो सामाजिक स्थानबारे बुझ्नुपर्ने बताए। महिलामाथिको संरचनात्मक हिंसा अन्त्य गर्न पितृसत्ताका प्रमुख आधार आर्थिक तथा राजनीतिक संरचना, सामाजिक सोच र कानुनको प्रभावकारी कार्यान्वयनमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा सञ्चालक केशव सिलवालले सहभागी सबैलाई धन्यवाद दिँदै ‘चिन्तन–स्टेसन’ हरेक महिना सञ्चालन हुने जानकारी दिए।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *