दिवंगत कलाकार जीवन आचार्यको एकल कला प्रदर्शनी सुरु

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा दिवंगत कलाकार जीवन आचार्यको ‘जीवनका प्रतिध्वनिहरू’ शीर्षकको एकल कला प्रदर्शनी शनिबारदेखि सुरु भएको छ। प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राई, कलाकारकी जीवनसंगिनी सब्गीता आचार्य र साहित्यकार राजेन्द्र सलभले संयुक्त रूपमा गर्नुभयो।

उद्घाटन समारोहमा कुलपति हार्तम्छालीले कला र कलाकारको खोज, पहुँच र पहिचानका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउँदै जीवन आचार्यको बहुआयामिक व्यक्तित्व र कृतित्व नवपुस्तामा हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले आचार्यका सिर्जनाहरूले सामाजिक रूपान्तरणमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दै तिनलाई राष्ट्रिय कला पुँजीका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले (थुम्केली) ले नेपाली संस्कृतिमा विशिष्ट योगदान पुर्‍याएका दिवंगत कलाकारको व्यक्तित्व र कृतित्वबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रतिष्ठानले निरन्तर कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो। सोही उद्देश्यअनुसार बहुआयामिक स्रष्टा जीवन आचार्यको एकल प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ थियो।

समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राईले प्रतिष्ठानको रणनीतिक योजनाअनुसार दिवंगत कलाकारको योगदान नवपुस्तामा हस्तान्तरण गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले जीवन आचार्य बहुमुखी प्रतिभाका धनी कलाकार भएको उल्लेख गर्दै रेखाचित्र, ग्राफिक कला, भावभङ्गी कला र प्रतिस्थापन कलामा उहाँको सशक्त उपस्थिति रहेको बताउनुभयो। रङ, कुची र शब्दको संयोजनमार्फत सामाजिक रूपान्तरणमा उहाँले महत्वपूर्ण भूमिका खेलेको धारणा पनि उहाँले राख्नुभयो।

प्रदर्शनीका क्युरेटर तथा कार्यक्रम संयोजक जुपिटर प्रधानले जीवन आचार्यको जीवनी र कृतित्वबारे प्रारम्भिक खोज र अनुसन्धान गरिएको जानकारी दिँदै आगामी दिनमा प्रकाशन, प्रदर्शनी र ऐतिहासिक अनुसन्धानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

साहित्यकार राजेन्द्र सलभले ‘जीवनका प्रतिध्वनिहरू’ प्रदर्शनी आयोजनाका लागि जीवन आचार्यका परिवार र साथीहरूको तर्फबाट प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले जीवन आचार्य चित्र, स्तम्भ र कवितामार्फत आज पनि जीवित रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा कलाकार जीवन आचार्यकी जीवनसंगिनी सब्गीता आचार्यलाई सम्मान गरिएको थियो। समारोहमा प्रतिष्ठानका प्राज्ञपरिषद् र प्राज्ञसभा सदस्य, दिवंगत कलाकारका परिवारजन, साहित्यकार, कलाकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

जुपिटर प्रधानको क्युरेसनमा सम्पन्न प्रदर्शनी मङ्सिर २६ गतेसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *