‘अविरल जनसाहित्य यात्रा–८५’मा भैरहवाका वरिष्ठ साहित्यकार, प्रगतिवादी स्रष्टा प्रा.डा.कपिल लामिछानेका एक दर्जन कविता गुञ्जिए

पुस १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८५ औँ शृङ्खलामा भैरहवामा रहेर सिर्जना, सङ्गठन, प्राध्यापन, सामाजिक रूपान्तरण अभियानमा सक्रिय रहेका वरिष्ठ साहित्यकार एवम् सशक्त प्रगतिवादी कवि प्रा.डा.कपिल लामिछानेका एक दर्जन कविता गुञ्जिए ।


राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका उपाध्यक्ष आर.सी.न्यौपाने, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्रा.डा.ऋषिराम शर्मा, डा.विदुला घिमिरे, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, खेमराज निरौला, जयन्ती स्पन्दन अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको उक्त विशेष समारोहको सञ्चालन राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालले गर्नुभएको थियो ।


अविरल जनसाहित्य यात्रा परिचालन समिति संयोजक डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै कास्की जिल्लामा जन्मिएर भैरहवालाई कर्मथलो बनाई स्थायी बसोवास गरिरहनुभएका र सिङ्गो जीवन प्राध्यापन कर्ममा समर्पित गर्नुभएका स्थापित आख्यानकार, बालसाहित्यमा पनि विशेगषगरी आख्यानमा सशक्तरूपमा कलम चलाउनुभएका, ‘अक्टोपस’ नामक चर्चित कवितासङ्ग्रहका स्रष्टा लामिछाने माक्र्सवादी वैचारिकताको कसीमा घोटेर सिर्जना गर्ने अनि स्पष्ट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने स्रष्टा हुनुभएको; २०३४ सालबाट साहित्ययात्रा सुरु गर्नुभएका र २०४२ देखि ‘मोहभङ्ग’ शीर्षकको कथा लिएर अविश्रान्त आख्यानमा सिर्जनारत रहनुभएका उहाँका दर्जनौँ साहित्यका विविध विधाका कृति र दर्जनौँ बालसाहित्यका कृति प्रकाशित भएका छन् । बालबालिकालाई बाल्यावस्थादेखि नै असल विचारसहितका सिर्जना पढ्न दिएर सफल बनाउनुपर्ने मान्यता राख्ने लामिछाने स्रष्टा र द्रष्टा दुबै व्यक्तित्व हुनुका साथै पाठ्यक्रमका, समालोचनाका, अनुसन्धानका दर्जनौँ कृतिका स्रष्टा पनि हुनुभएको अर्थात् सिर्जना कर्मले नै परिचित र स्थापित स्रष्टा हुनुभएको धारणा राख्नुभयो ।


समारोहका अध्यक्ष राम विनयले विगत सात वर्षदेखि देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज भैरहवामा रहेर साहित्य सिर्जना गरिरहेका प्रा.डा.कपिल लामिछानेलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा भैरहवामा त्रियाशील रहेका स्रष्टालाई प्रस्तुत गरिने सूचनासहित आमन्त्रण गरेकामा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत पनि गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने र सामाजिक रूपान्तरणका पक्षमा स्पष्ट सन्देशसहितका सिर्जना गर्नुपर्ने मान्यतालाई आत्मसात गर्ने स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।


कविनायक प्रा.डा.कपिल लामिछानेले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाट साहित्ययात्राको थालनी गरेको भए पनि, ‘अक्टोपस’ कवितासङ्ग्रह प्रकाशित भएपछि उक्त सङ्ग्रहमाथि नै अनुसन्धानसमेत भएको भए पनि त्यसपछि क्रमशः आख्यानतर्फ मोडिएको, खास घटना वा परिवेशले घच्घच्याएपछि कविता सिर्जना गरेको, सत्ताधारीको बहुरूपी र बहुलठ्ठी प्रवृत्तिले कविता सिर्जनामा सघाएको धारणासहित कविताको रचनागर्भका बारेमा जानकारी पनि गराउँदै यो विशेष समारोहमा आज आपूmलाई उपस्थित हुने अवसरप्रदान गरेकामा धन्यवादसहित ‘नयाँघर’, ‘महासमरमा’, ‘सिङ्गो मुलुक सलामीमा जुटेको छ’, ‘एक्काइसौँ शताब्दी पख्’, ‘सहिदको मःमः’, ‘यस्तो लाग्छ’, ‘कठपुतलीहरू’, ‘अक्टोपस १’, ‘अक्टोपस २’, ‘सेताहात्तीहरू’, ‘धरहरामा म’ र ‘बडा ! बडा !’ शीर्षकका बारओटा सशक्त कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक डा.विदुला घिमिरेले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८५ औँ शृङ्खलामा पुगेको छ । एकैजना स्रष्टाका एक दर्जन कविता सुन्ने÷सुनाउने र वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने यो अभियानको उद्देश्य सकारात्मक छ । आज हामीले स्थापित वरिष्ठ साहित्यकार एवम् कवि प्रा.डा.कपिल लामिछानेका एक दर्जन कविता सुन्यौँ । सुनिएका सबै कविता गणतन्त्रकै सेरोफेरोमा घुमेका छन् । जनताको बलिदानी सङ्घर्षले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि समृद्ध मुलुक अर्थात् नयाँघरको परिकल्पना गरिएको अर्थात् सपना देखिएको भए पनि सार्थक नभएको, साकार नभएको अभिव्यक्ति कवितामा अत्यन्त प्रखररूपमा आएको छ ।

सत्ताधारीको हिंस्रक चरित्रको उदात्तीकरण कवितामा भएको र निरङ्कुशताका विरुद्धमा नेपाली जनताले तातोरगत बगाएको दृष्टान्तका साथ नेपाली बलिदानी रगतको महिमागान गाइएको छ । २०४६ को आन्दोलनको नेतृत्व गर्ने जनताका प्रिय नेता वा नायकको हत्या गरिएकोप्रति कविमन अत्यन्त द्रविभूत भएको पीडा र सम्मानभावसहित त्यो मृत्यु अमर भएको विचार कवितामा व्यक्त भएको छ । विश्वले एक्काइसौँ शताब्दी भोगिसक्ता पनि हाम्रो हकमा भने जनताले पटक्कै अनुभूत गर्ननसकेको ! अर्थात् रूपान्तरणको अनुभूति नभएको चिन्ताभाव कवितामा अभिव्यक्त गरिएको छ । नेपाली नेपालीको भिडन्तले जनता मारिएका दृष्टान्तलाई कवितामा उजागर गरी वीभत्सताको चित्रण गरिएको छ र प्रमिथसको खोजी कवितामा गरिएको छ । बाह्य इसारामा चल्ने र इसारामै उसैको निम्ति काम गर्ने शासकीय कठपुतली प्रवृत्तिका प्रति कठोर आक्रोश व्यक्त गरिएको छ । जनताले शासनसत्ताबाटै निरन्तर लुटिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने आग्रह पनि कवितामा गरिएको छ । लडेको धरहरा बरु उठाइएको छ तर जनताको जीवनस्तर भने नउठेकोमा कवितामा अत्यन्त गम्भीर चिन्ताभाव व्यक्त गरिएको छ र शालीन आक्रोश पनि अभिव्यक्त भएको छ । देश हाँक्ने नेताको बहुरूपी चरित्रको कडा विरोध गरिएको छ । अक्टोपसले आठतिरबाट सिकारमा हमला गरेजस्तै नेपाली राजनीतिका नायकहरू सपना मात्र बाँड्छन् र मुलुकको दोहनमा निर्लज्ज सरिक हुन्छन् भन्ने यथार्थको उद्घाटन पनि कवितामा सुन्दरताका साथ गरिएको छ । अन्याय, घातप्रतिघात, लुटपाट बढाउने सबै सबै शासकीय प्रवृत्तिको डटेर विरोध गरिएको छ । वाचित सबै कवितामा यथास्थितिवादको प्रकटीकरण र विद्रोही चेतना सशक्तरूपमा अभिव्यक्त भएको पाइन्छ तापनि समतामूलक समाज निर्माणको प्रगतिवादी वैचारिकता पनि सम्प्रेषण हुनुपर्ने, वीभत्स चित्रणलाई न्यूनीकरण गरिदिनुपर्ने पाटोका अतिरिक्त कवितामा परम्परित र नवीन विम्बको अनि उखानको सुन्दर संयोजन रहेको पाइन्छ । सामयिक परिस्थितिलाई कुशलतापूर्वक उजागर गरिएको छ र कवितामा अनुप्रासको संयोजन पनि सुन्दर रहेको देखिन्छ । त्यसैगरी कालखण्डविशेषको राजनीतिक सामाजिक परिवेश कवितामा अत्यन्त सुन्दरढङ्गले उजागर गरिएका कविता सुन्दर रहका छन् भन्ने धारणा राख्नुभयो ।


प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो पचासिऔँ शृङ्खलामा आज अत्यन्त वरिष्ठ साहित्यकार एवम् कवि प्रा.डा.कपिल लामिछानेलाई सुनियो । सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्नसकिँदो रहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि कविता सुनिसकेपछि भएको छ । साहित्यले सामाजिक रूपान्तरण अभियानलाई निकै ठुलो बल पुर्याउँछ किनभने स्रष्टाको कलम अत्यन्त तिख्खर हुन्छ । आज पनि वाँणजस्तै प्रहारक कविता सुन्ने अवसर प्राप्त भएको छ र यो समारोह अत्यन्त प्रवाहपूर्ण र सुन्दर रहेको छ । सत्ताले जे गरे पनि हुने मनपरीतन्त्रका प्रति कविताले कठोर प्रहार गरेका छन् । गणतन्त्रको स्थापनापछि कामै केही नभएको त होइन तर जनताको जीवनस्तर उकास्ने र रोजगारी सिर्जना गर्ने पक्षमा भने अपेक्षित काम नभएका हुँदा मुलुकको दूरावस्था भएको प्रति कवितामा कठोर आक्रोश अभिव्यक्त भएको पाइएको छ । विद्रोहको माध्यमबाट वा उक्साहटमा, इसारामा अहिले परिवर्तनका नामको अराजकता मौलाउन खोजेको देखिएको छ र यो चिन्ताको विषय हो । त्यसैले स्रष्टाले प्राप्त उपलब्धिको रक्षाका पक्षमा पनि कलम चलाउनु आवश्यक भएको छ । आजको उपस्थिति तुलनात्मकरूपमा केही कम भए पनि गुणात्मक रहेको छ । अविरल जनसाहित्य यात्राका हालसम्मका कवि, उनीहरूका सिर्जना तथा समीक्षालाई प्रकाशन गरी दस्ताबेजीकरण गरौँ भन्ने धारणा राख्नुभयो ।


समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा भैरहवादेखि उपस्थित भइदिने कविनायकलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, प्राध्यापन, अनुसन्धान, सङ्गठन, राजनीतिक–सामाजिक रूपान्तरण अभियानका अत्यन्त सक्रिय, अथकित, अविश्रान्त अभियन्ता प्रा.डा.कपिल लामिछानेलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, शालीन विद्रोहका माध्यमबाट परिस्कृत वैचारिकता सम्प्रेषण गर्ने लामिछाने सिङ्गो जीवन प्राध्यापन, अनुसन्धान तथा सिर्जनामा लगाउने स्रष्टा हुन् । विचारले मात्र सामाजिक रूपान्तरण सम्भव छ र इमानले मात्र मुलुकको समृद्धि गर्नसकिन्छ भन्ने ठान्ने अनि जनताकै पक्षमा इमानदार भएर काम गरे मात्र मुलुकको समृद्धि वा रूपान्तरण सम्भव छ भन्ने मान्यता राख्ने, कठोर अभिव्यक्तिका माध्यमबाट रूपान्तरणको आबाज बुलन्द गर्ने अभियन्ता भएकाले कविले आफ्ना कवितामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्दै समग्र समाजको रूपान्तरणका पक्षमा आबाज उठाएका छन् । आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, बेथिति र विसङ्गतिमा कडा प्रहार गर्ने र सिर्जनालाई कलात्मक पार्ने उनको लेखनले नयाँपुस्तालाई प्रोत्साहन गर्ने छ । अभिव्यक्तिमा स्पष्टता रहेका यी स्रष्टा सिर्जनामा मात्र होइन अनुसन्धानमा समेत सक्रिय रहेका छन् । नेपाली उखानमा विद्यावारिधि गरेका उनको सिर्जनाको लक्ष्य समतामूलक समाजको स्थापना रहेको देखिन्छ । कवितामा विचारलाई प्रवाहपूर्णरूपमा सम्प्रेषण गर्ने, अझ व्यङ्ग्यार्थ सम्प्रेषण गर्ने लामिछाने विपन्न जनताले बाँचेको अभावपूर्ण जीवनलाई कवितामा उजागर गर्दै रूपान्तरणको स्पष्ट आग्रह गर्दछन् । सुन्दर ग्राम्य विम्बको प्रयोग र वाचन वैशिष्ट्य आजका कविका विशेषता रहेको देखिन्छ । यिनै गुणग्राही अभियन्ता स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी माघ महिनामा ८६ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेकी जयन्ती स्पन्दनलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *