साहित्य सन्ध्यामा ‘ज्येष्ठ नागरिकका प्रतिको हाम्रो दायित्व’ विषयक चर्चासहित कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४७औँ शृङ्खला माघ ६ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘ज्येष्ठ नागरिकप्रतिको हाम्रो दायित्व’ विषयमा अत्यन्त विशद चर्चासहित कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।


सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा साहित्यकार प्रा.डा.मुकेशकुमार चालिसे र विशेष अतिथिमा साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवी उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रूपमा साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, कणाद महर्षि, डा.गोविन्दप्रसाद आचार्य, गायत्रीकुमार चापागाईँ, गोविन्द घिमिरे वेदमणि, दिल पौडेल, महेशराज खरेल, डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।


‘ज्येष्ठ नागरिकका प्रतिको हाम्रो दायित्व’ विषयमा विशद चर्चा गर्नुहुँदै प्रा.डा.मुकेशकुमार चालिसेले आफ्नो सिङ्गो जीवन त्रिभुवन विश्वविद्यालयमा जीवविज्ञान विषय प्राध्यापन गरेर अवकाश प्राप्त भएपछि पाकामान्छेका बारेमा अध्ययन अनुसन्धान गर्नेतर्फ जीवनलाई मोडेको र आफ्नो साधनालाई मूल्याङ्कन गरेर लामो इतिहास निर्माण गरेको साहित्य सन्ध्याले यो गहन विषयमा चर्चा गर्ने अवसर दिएकोमा आभारी छु । यो विश्वमा पाका मान्छेविनाको संसारको परिकल्पना हुनसक्तैन । पाकामान्छेले घरका काम गर्ने, अनुभवजन्य भावी जीवनका बारेमा पनि निर्णय गर्ने कति हो कति सम्भावना रहन्छ तर हामीकहाँ बजारवाद र उपभोक्तावादी संस्कृति मौलाएको हुँदा पाकामान्छेले सम्मानरहित र अनादरयुक्त जीवन बाँच्नुपर्ने अवस्था सिर्जना भएको छ । पाकामान्छे कमाउने अवस्थामा नरहने भएपछि घर घर नभएको, तिरस्कृत जीवन बाँच्नुपरेको पनि अवस्था छ ! अर्थात् पाकामानछेको योगदानले नै समाज यहाँसम्म आइपुगेको हो भन्ने बिर्सिएको छ । ‘बुढाबुढीका कुरा’ भनेर अपहेलना गर्ने प्रवृत्ति मौलाएको छ । विभिन्न विकसित मुलुकमा राजनीतिक परिवर्तनपछि पाकामान्छेलाई सम्मान गर्ने र दुव्र्यवहार गरे कारवाही गर्ने संस्कार विकसित भएको पाइन्छ तर हामीकहाँ पाकामान्छे घर, आवास र पाटीसम्म पुगेका पाइन्छन् । अहिले हाम्रो मुलुकमा प्रतिमहिना ३०–३५ जना पाकामान्छेको बेवारिस लास भेटिने गरेको तथ्याङ्क पाइन्छ ! हाम्रो देशमा कुल जनसङ्ख्याको १८.६% पाका मान्छे रहेका र कुल जनसङ्ख्याको लगभग एक करोड नागरिक बाहिर रहेकालाई घटाउँदा देशमा रहेका जनसङ्ख्याको लगभग ४०% पाकामान्छे यो देशमा बसोवास गरिरहेका छन् । चुनावी हिसाबले हेर्दा पाकामान्छेको मतभार बढी रहेको पाइन्छ । यो सङ्ख्यालाई राज्यले गम्भीरताका साथ ध्यान दिनुपर्नेमा उपेक्षाकै तमासे बनेको देखिन्छ । पाकामान्छेले सकुन्जेल जीवनभरि काम गर्दछन् त्यसैले स्थानीय तहको विकासनिर्माणमा पाकामान्छेको अनुभवलाई समेट्नु आवश्यक हुन्छ र ज्येष्ठ नागरिक मिलन केन्द्र वडास्तरमा बनाइँनु आवश्यक छ । यद्यपि यो व्यवस्था गर्ने घोषणा चाहिँ भएको छ । पाकामध्ये पनि अशक्तको बौद्धिक क्षमताको उपयोग गरिनुपर्ने र पूर्ण असक्षमम पाकामान्छेको हकमा भने राज्यले सम्पूर्ण जिम्मा लिने व्यवस्था गरिनु आवश्यक छ । मानव स्वभाविकरूपमा विज्ञानसम्मत चेतनाले युक्त हुन्छ त्यसैले पाकामान्छे पनि सक्रिय रहनु भने आवश्यक छ, स्वास्थ्यका बारेमा पनि सचेत हुनुपर्दछ । निःशुल्क, निःस्वार्थ, निःसर्तरूपमा जानेका कुरा सुनाउने÷सिकाउने कामलाई पाकामान्छेले पनि अगाडि बढाउनुपर्दछ । त्यसैगरी पाकामान्छेले थोपोछिटो गरेर जोगाएको बचतमा होस् वा उनीहरूले अगाडि बढाएका योजनामा सरकारले कर लगाउनुहुन्न बरु सहयोग गर्नुपर्दछ, प्रोत्साहन दिनुपर्दछ । हरेक घरमा सानाबालबालिकालाई पाकामान्छेका प्रति आदर गर्ने संस्कारको विकास गर्नु आवश्यक छ । वयष्कका आचरणबाट बालबालिकाले सिक्छन् त्यसैगरी सरकारको उपयुक्त नीतिले पनि संस्कार निर्माणमा ठुलो योगदान गरेको हुन्छ । पाकामान्छेले पनि कम बोल्ने र धैर्यशील बन्ने प्रयत्न गर्नु आवश्यक छ । पाकानागरिकमैत्री बाटाघाटा, पार्क, उद्यान, असपताल बनाउनुपर्दछ । त्यसैगरी हामी स्रष्टाले पनि पाकामान्छेका हकहित संरक्षण गर्ने, उनीहरूका भोगाइ उजागर गर्ने र सुधार तथा रूपान्तरणका पक्षमा आबाज उठाउने खालका सिर्जना गरिनु आवश्यक छ । समाजमा मसिनोगरी पाकामान्छेलाई हेलाँ गर्ने प्रवृत्ति बढेको र बढिरहेको पाइएको हुँदा यस्ता प्रवृत्तिलाई उजागर गर्ने र न्यूनीकरणमा कलम चलाउनु आवश्यक छ । मानव सभ्यता भनेको रिले दौडजस्तै हो त्यसैले पाका मान्छेबाट सिक्ने र सिकाउने कार्यमा हामी सबैको योगदान आवश्यक रहेको छ भन्ने धारणा राख्नुभयो ।


शान्ता मानवीले साहित्य सन्ध्या सिर्जनाको प्रेरणास्थल हो । साहित्यले समाजलाई निर्देश गर्दछ । अहिलेको अवस्था भने नयाँपिँढीसँग समन्वय गर्ने र सिर्जना गर्ने रहेको हुँदा त्यस दिशामा पनि ध्यान दिनु आवश्यक छ । आजको यो विशेष समारोहमा ज्येष्ठ नागरिकका प्रतिको हाम्रो दायित्वजस्तो गहन विषयमा विशद चर्चा भएको छ र यो ज्यादै सराहनीय कार्य हो भन्नुभयो ।
समारोहमा राम विनय, डम्बर पहाडी, सुनील पुरी, दिल पौडेल, ओमप्रसाद कोइराला, महेशराज खरेल, कणाद महर्षि, नवराज श्रेष्ठ, डा.मनोज जोशी, गायत्रीकुमार चापागाईँ, ऋचा अधिकारी, विन्दु अधिकारी ढकाल, गोपाल नेपाल, सोमनाथ दाहाल, सोइना दाहाल, वासुदेव अधिकारी, कुमार नेपाल, डा.गोविन्दप्रसाद आचार्य, तारा गाउँले, गोपालकुमार मैनाली, प्रशान्त खरेल, मिसन अधिकारी, गोविनद घिमिरे वेदमणि, सरिता घिमिरे, ढुण्डीराज पोखरेल, रमेश पोखरेल र जयन्ती स्पन्दनले आआफ्ना कविता, गीत, मुक्तक, एलाक वाचन गर्नुभएको थियो ।


वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै उपप्रा.रूपक अलङ्कारले साहित्य सन्ध्याको अविश्रान्त यात्राको ४४७ औँ शृङ्खला आज विशेष र फरक प्रकारको भएको भन्नुहुँदै अत्यन्त गहन र आवश्यक विषयमा विशद परिचर्चा भएको छ । आज २७ ओटा रचना वाचित भएका छन् । प्रायः कविता ज्येष्ठ नागरिकसँग नै सम्बन्धित रहेका छन् भने केही समसामयिक, केही अध्यात्मिक प्रकृतिका अनि केहीमा चाहिँ कवि नै अल्मलिएको अवस्थाका रचना वाचन भएका छन् । क्रियाशीलता नै जीवन हो भन्ने भावको पहिलो कविताबाट थालनी भएको यो विशेष समारोहमा सहिद उपेक्षित भएका, बाको पुरानो घर रित्तिएझैँ देश नै रित्तिँदै गएको भावका कविता वाचन भएका छन् । जीवनजगत्का कुरा उल्लेख भएका, नेपालीपन हराउनुनहुने भावका, देशको शिक्षा व्यवहारमुखी नभएकोप्रति चिन्ता व्यक्त गरिएका, गणतन्त्र विकृत पारिएको, लेखनाथ पौड्यालको आध्यात्मिक एवम् दार्शनिक पक्ष उजागर गरिएको, माघी पर्वका विशेषता उल्लेख गरिएका कविता, विष्मयकारी दृष्टान्तसहितका ज्येष्ठ नागरिकको सम्मानका कविता, आमाको सम्झना गरिएका र प्रकृतिको मानवीकरणका कविता वाचित भएका छन् । बालमनोविज्ञानका, सहिदको अपहेलना मात्र होइन पेसामा किनबेच गर्नेजस्तो अपसंस्कृतिम मौलाएको प्रति चिन्ता जाहेर गरिएका, जीवन भोक र सडकको पनि बजारीकरण गरिएका विकृतिका कविता, वृद्धावस्थाको चिन्ता र सम्पत्तिको अधिकारकारका कुरा कवितामा उजागर गरिएका छन् । त्यसैगरी काठमाडौँलाई अतिक्रमण गर्ने र त्यही काठमाडौँलाई गाली गर्ने प्रवृत्तिका प्रति पनि कवितामा आक्रोश व्यक्त गरिएको छ । सरकारजस्तो सरकार नभएको पीडा कवितामा अभिव्यक्त भएको छ । साहित्यकारका पनि विविध स्वार्थपरक प्रवृत्ति उजागर गरिएका, पितृका सम्झनाका कविता, आस्तिक दर्शनका र ज्येष्ठ नागरिकको सम्मान गरिनुपर्ने भावका कविता वाचन गरिएका छन् । त्यसैले साहित्य सन्ध्याको आजको यो विशेष समारोह उत्कृष्ट रहेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिनुहुने विशिष्ट व्यक्तित्वहरू, ‘ज्येष्ठ नागरिकका प्रतिको हाम्रो दायित्व’ विषयमा तथ्यपरक विशद चर्चा गरिदिने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । सत्ताइसओटा वाचित रचनामाथि टिप्पणी गर्ने टिप्पणीकार पनि धन्यवादका पात्र हुनुहुन्छ । आज सुनिएका सिर्जनाले नेपाली समाज र सम्पूर्ण नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राखेका छन् । साहित्य सन्ध्याको अविश्रान्त यात्रामा हामीले सबै सबैबाट पाएको सद्भाव सराहनीय छ, हामी आभार व्यक्त गर्दछौँ । सन्ध्याको ४४८ औँ शृङ्खलामा पनि कुनै समसामयिक विषयमा छलफल तथा बहस गर्नेगरी उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *