‘अविरल जनसाहित्य यात्रा–८३’मा प्रगतिवादी कवि रापी वाशिष्ठ का एक दर्जन कविता गुञ्जिए

असोज १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८३ औँ शृङ्खलामा पुराना पुस्ताका सशक्त प्रगतिवादी कवि रापी वाशिष्ठका एक दर्जन कविता गुञ्जिए ।


राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले सल्लाहकार परिषद्का अध्यक्ष, पूर्वमन्त्री एवम् साहित्यलाई माया गर्ने अमृतकुमार बोहोरा उपस्थित हुनुहुन्थ्यो भने प्रा.डा.जीवेन्द्र देव गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका उपाध्यक्ष आर.सी. न्यौपाने, उमेश उपाध्याय, डम्बर पहाडी, महेश खरेल, साधुराम नेपाल, डा.कृष्ण सुवेदी, डा.रमेश शुभेच्छु, त्रिलोचन आचार्य, नमुना शर्मा, इन्द्रावती क्याम्पसका कयाम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ, राष्ट्रिय जनसङ्गीत सङ्घका अध्यक्ष बैकुण्ठ महत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण र प्रमुख अतिथिलाई पुष्पगुचछा अर्पण गरी स्वागत गर्नुभएको उक्त विशेष समारोहको सञ्चालन राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालले गर्नुभएको थियो ।


अविरल जनसाहित्य यात्रा परिचालन समिति सदस्य ज्ञानु विद्रोहीले कविनायकको परिचय दिनुहुँदै २०१३ सालमा सिन्धुपाल्चोकमा जन्मिएका रापी वाशिष्ठको खास नाम राजेन्द्रप्रसाद भट्टराई रहेको, पचारप्रसारबाट टाढा रहने स्रष्टा भएका कारण थोरैले चिनेका, चारओटा कृति प्रकाशोन्मुख रहे पनि आर्थिक अभावका कारण सम्भव नभइरहेको, शास्त्रीसम्मको अध्ययन गरी आफ्ना जीवनका चार दशक अध्यापन कर्ममा लगाएका र त्यो अवधिको आधा समय चाहिँ प्रधानाध्यापककै भूमिका निर्वाह गरेका पुराना पुस्ताका तर सिर्जनामा युवा जोश रहेका स्रष्टासम्म अविरल जनसाहित्य यात्राको दृष्टि केही ढिलो पुगेको, उहाँका सिर्जनामा वैचारिक सशक्तता रहेको र फुटकर रचना स्वदेश तथा भारतका विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका; व्यक्ति, सिर्जना, विचार र समर्पणको अत्यन्त सुन्दर समन्वय गर्ने यिनै कुशल स्रष्टालाई आज हामीले सुन्ने छौँ भन्ने धारणा राख्नुभयो ।


समारोहका अधयक्ष राम विनयले २०७२ सालको भूकम्पको समयमा सिन्धुपाल्चोकका स्रष्टाको पीडामा थोरै भए पनि मलम लगाउन साहित्य सन्ध्याको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोक पुगेका वेला वाशिष्ठसँग भेट भएको हो । त्यसैगरी आजका प्रमुख अतिथि अमृतकुमार बोहोरासँग २०४८ सालमा चितवनमा पहिलोपटक भेट भएको हो । लामो समयदेखि सञ्चालन गरिरहिएको यो अविरल जनसाहित्य यात्राका अलावा, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालले हरेक महिनाको १ गते साँझ प्रविधिमैत्री कविगोष्ठी गर्ने गरेको छ । यो समारोहको उद्देश्य चाहिँ एकजना स्रष्टाका एक दर्जन कविता सुन्ने र ती कवितामाथि समीक्षात्मक टिप्पणी गर्ने, कमीकमजोरी उजागर गर्ने र सुधार गराउने रहेको छ । समीक्षकसँग लिखित सामग्री माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आज भने हामीले पुराना स्रष्टालाई यस विशेष समारोहमा उपस्थित गराएका छौँ भन्ने धारणा राख्नुभयो ।
कविनायक रापी वाशिष्ठले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै मेरो स्वभाव नै प्रचारमुखी नरहेको हो । मैले मेरो देशलाई सदैव केन्द्रमा राखेर सिर्जना गर्ने गरेको छु त्यसैले पनि मेरा कवितामा एउटै स्वाद रहला कि भन्ने डर पनि लागेको छ । अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दक्षिणी छिमेकीको हस्तक्षेप तथा हेपाहा व्यवहार, माओवादी द्वन्द्वले समाजमा पारेको नकारात्मक प्रभाव, जननेता मदन भण्डारीको हत्या भएपछि आर्यघाटमा उपस्थित हुँदा मेरो मनमा उत्पन्न भावनाजस्ता विषय मेरा कवितामा समेटिएका छन् भन्ने जानकारीसहित शादूलविक्रीडित छन्दका ‘नेपाल हाम्रो कर्मभूमि’, ‘न्यानो अभिवादन’, ‘मेरो देश’, ‘शार्दूल श्रद्धाञ्जली’ र ‘बिदेसिएका प्रति’ शीर्षकका र ‘मुटुभरिको माया मेरो देशलाई’ शीर्षकको अनुष्टुप् छन्दको गरी छओटा सशक्त कविता वाचन गर्नुभएको थियो भने सहयोगी कविहरू रूपक अलङ्कारले ‘प्रश्न’ र ‘शुभकामना’ शीर्षकका शार्दूलविक्रीडित छन्दकै कविता वाचन गर्नुभयो । त्यसैगरी बुद्धि तिमिल्सिनाले डम्बर पहाडीको वाध्यवादनमा शार्दूलविक्रीडित छन्दकै ‘नेपाल साझा घर’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । डा.कृष्ण सुवेदीले ‘मत्युसङ्गीत’ शीर्षकको, साधुराम नेपालले ‘तुहिएका रहरहरू’ शीर्षकको र डम्बर पहाडीले ‘सुख देख्न नचाहनेहरू’ शीर्षकका त्यत्तिकै सशक्त वैचारिकतायुक्त गद्य कविता वाचन गर्नुभएको थियो ।


वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै कवि एवम् समालोचक डा.रमेश शुभेच्छुले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८३ औँ शृङ्खलामा पुगेको छ । कुनै वेला यो शृङ्खलामा म आपूm पनि कविका रूपमा उपस्थित भएको छु । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य सकारात्मक छ । आजको यो समारोहको उपस्थिति गुणात्मक रहेको छ । आज हामीले कवि रापी वाशिष्ठका कविता सुन्यौँ । यतिखेर वाशिष्ठका कवितामाथि टिप्पणी गर्न उभिइरहँदा उहाँकी जीवनसङ्गिनी गङ्गा र परिवारका सदस्य पनि यहाँ भइदिनुभएको भए हुन्थ्योजस्तो लागेको छ । आफ्ना जीवनका ऊर्वर ३९ वर्ष ४ महिना र २ दिन शिक्षण सेवामा समर्पित उहाँले २०२८ सालमा ‘मेरो कल्पनाको लहर’ शीर्षकको कविताबाट साहित्यिक यात्रा सुरु गर्नुभएको हो । २०४९ वैशाख ४ गते भएको घर आगलागीमा उहाँका चारओटा कृति जलेका भए पनि उहाँका सम्पूर्ण सिर्जनामा देशभक्ति, अग्रजको सम्मान, देशलाई कसरी बचाउने तथा सुरक्षित राख्ने भन्ने चिन्ता, सर्जक र सिर्जनाशक्तिका बारेमा प्रकाश, सङकटकालीन त्रासको चित्रण, मानवतासहितको आदर्शको अपेक्षा, विस्तारवादको विरोध, मानवजीवन समाप्त पार्ने युद्धको सन्त्रासको विरोध, जनयुद्धको हिंसात्मक रूपका प्रतिको चिन्ता, गृहयुद्धको डर, जननेता मदन भण्डारीको अवसानको पीडामा श्रद्धाञ्जलीजस्ता विषयवस्तु समेटिएका छन् । कवितामा विश्वका मानिसको साझा घरको अपेक्षा गरिएको छ । हाम्रो यो पावन मुलुकको प्राकृतिक, सांस्कृतिक भव्यता संसारलाई चिनाउनुपर्ने आग्रह पनि गरिएको छ । मुलुकमा ठुलो बलिदानपछि प्रजातन्त्र प्राप्त भएको भए पनि अपेक्षाअनुसारको काम नभएकोप्रति चिन्ता जाहेर गरिएको छ । युवाजति सबै विदेश पलायन भएका कारण मेला, भेला र घाटसमेत खालि भएकाप्रति र देश बिर्सिएको अवस्थाका प्रति चिन्ता जाहेर गरिएको छ । त्यसैगरी मुलुक पराधीन हुनलागेकोमा चिन्ता जाहेर गरिएको छ र मानवतामाथि भइरहेको प्रहारका प्रति पनि चिन्ता गरिएको छ । कवितामा लयचेतना सुन्दर रहेको पाइन्छ । वैचारिक सम्प्रेषण पनि सशक्त छ । आदर्शको पक्षसँगै सामाजिक विकृतिको उदात्तीकरण र रूपान्तरणको अपेक्षा कवितामा गरिएको छ । राष्ट्रिय विभूति, जलसम्पदाआदिलाई कविताका विषय र विम्ब बनाइएको छ भन्ने धारणा राख्नुभयो ।


अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपानेले अविरल जनसाहित्य यात्राको यो त्रियासिऔँ शृङ्खलामा आज अत्यन्त सशक्त स्रष्टा आर.पी.वाशिष्ठलाई सुनियो । सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि कविता सुनिसकेपछि भएको छ । साहित्यले सामाजिक रूपान्तरण अभियानलाई निकै ठुलो बल पुरयाउँछ । तर स्रष्टाले र समीक्षकले प्रगतिवादी धारबाट समन्वयवादी धारमा झरिन्छ कि भन्ने पक्षमा चाहिँ सचेत हुनु आवश्यक छ भन्ने धारणा राख्नुभयो ।


प्रमुख अतिथि अमृतकुमार बोहोराले आज धेरै पुराना, परिचित र आफ्नै जिल्लावासी स्रष्टा रापी वाशिष्ठका कविता सुन्ने अवसर मिल्यो । पिस्कर हत्याकाण्ड निरङ्कुश शासनसत्ताले गरेको अत्यन्तै त्रूmर हत्या हो । त्यो वर्गसङ्घर्षको पराकाष्ठा हो । गरिब जनतामाझ पार्टी स्थापित भएकाले जनताका तहबाट निरङ्कुशताका विरुद्धमा गरिएको प्रतिवाद र प्रतिरोधको आन्दोलन पनि हो । वर्तमानमा इतिहास बिर्सिने प्रवृत्ति विकास भएको छ तर वर्तमान उपलब्धिको पृष्ठभूमि चाहिँ त्यही इतिहास हो । सिन्धुपाल्चोकमा मात्र परिचित तर समग्र देशले नचिनेका स्रष्टालाई आज यो विशेष कार्यक्रमका माध्यमबाट उजागर गर्ने काम गरिएको छ । राजनीति रुखो र नीरस हुने तर साहित्यले लालित्यपूर्ण अभिव्यक्तिका माध्यमबाट विचार सम्प्रेषण गर्ने भएकाले रूपान्तरण अभियानमा यसले सहयोग पुर्याउँछ । आजका कवितामा देशभक्ति, सहादत नेतृत्वका प्रति सम्मान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवृत्तिलाई विषय बनाइएको छ र रूपान्तरणको स्पष्ट सन्देश पनि सम्प्रेषण गरिएको छ । हाम्रा सिर्जनाले समसामयिक विकृति र विसङ्गतिलाई उजागर गर्ने र रूपान्तरणका पक्षमा आबाज बुलन्द गरिरहनु आवश्यक छ । अहिले राजनीतिक आन्दोलनमा विकृति आएका छन् । अवसरवाद मौलाएको छ । अराजकता झाङ्गिएको छ त्यसैले यस्ता प्रवृत्तिका विरुद्धमा सिर्जना गरिनु आवश्यक छ । समाजमा अस्थिरता ल्याउने प्रयत्नका विरुद्धमा तर जनताका पक्षमा सरल भाषाशैलीमा सिर्जना गरिनु आवश्यक छ । पार्टीहरूमा विचारभन्दा नेता प्रधान मान्ने प्रवृत्ति हुर्किएकोप्रति, सुविधायुक्त जीवन र निर्वाचनकेन्द्रित राजनीतिका प्रति पनि स्रष्टाले घच्घच्याउनु जरुरी रहेको छ । अहिलेको राजनीतिक दूरावस्थाले समाजवादको लक्ष्य प्राप्ति हुँदैन । बिचौलिया, माफिया, दलालतन्त्र, भ्रष्टता अहिले हाबी भइरहेको हुँदा यसका विरुद्धमा स्रष्टाले सशक्त आबाज उठाउनु आवश्यक रहेको छ । आज सुनिएका कविताले त्यो धर्म निर्वाह गरेका हुँदा यो गोष्ठी मलाई निकै सार्थक लागेको छ भन्ने धारणा राख्नुभयो ।


समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, सङ्गठन, राजनीतिक–सामाजिक रूपान्तरण अभियानका अत्यन्त पुराना अथकित, अविश्रान्त अभियन्ता रापी वाशिष्ठलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र परिस्कृत वैचारिकता सम्प्रेषण गर्ने वाशिष्ठ आफैँमा प्रचारभन्दा टाढा रहने स्रष्टा हुन् । विचारले मात्र सामाजिक रूपान्तरण सम्भव छ भन्ने ठान्ने अनि जनताकै सेवामा समर्पित भइरहने अनुशासित अभियन्ता भएकाले कविले आफ्ना कवितामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्दै हाम्रो समाजको रूपान्तरणका पक्षमा आबाज उठाएका छन् । आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने र सिर्जनालाई कलात्मक पार्ने उनको लेखनले नयाँपुस्तालाई प्रोत्साहन गर्ने छ । सिङ्गो जीवन शिक्षण कार्यमा समर्पित गरेका कारण उनको लेखनमा आदर्शको पाटो, नैतिक सन्देशको पाटो प्रबल रहेको छ । यिनै गुणग्राही स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी मङ्सिर महिनामा ८४ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा विशेष योगदान गरिरहेका कुनै स्रष्टालाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *