साहित्य सन्ध्याकोे ४४५औँ शृङ्खला सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४५औँ शृङ्खला मङ्सिर २ गते शनिबार अपराह्न ठिक १ बजे जुमका माध्यमबाट ‘नेपाली बालसाहित्यको इतिहास, वर्तमान र भविष्य’ विषयमा अत्यन्त विशद चर्चासहित कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।


सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा विशेष अतिथिका रूपमा प्रा.डा.देवी नेपाल र डा.फणीन्द्रराज निरौला उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रूपमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेय, वरिष्ठ स्रटाहरू प्रा.डा.ध्रुवकुमार घिमिरे, उमेश उपाध्याय, डा.राजेन्द्रप्रसाद अधिकारी, डा.गोविन्दप्रसाद आचार्य, डा.कृष्ण सुवेदी, डा.हरिप्रसाद सिलवाल, नर्मदेश्वरी सत्याल, डम्बर पहाडी, नन्दु उप्रेती, महेशराज खरेल र जयन्ती स्पन्दन उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी स्रष्टाहरू विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, कुमार नेपाल, उर्मिला पन्त, बालकवि सोइना दाहाल, सोमनाथ दाहाल, खेमराज निरौलासमेतको उपस्थिति रहेको थियो ।


उक्त विशेष समारोहमा प्रा.डा.देवी नेपालले ‘नेपाली बालसाहित्यको इतिहास, वर्तमान र भविष्य’का बारेमा अत्यन्त विशदरूपमा स्लाइडका माध्यमबाट परिचर्चा गर्नुहुँदै साहित्य सन्ध्याको अनवरत चार दशक लामो यात्राको यो ४४५ औँ शृङ्खलामा नेपाली बालसाहित्यको इतिहास, वर्तमान अवस्था र भविष्यका बारेमा परिचर्चा गर्ने विशेष समारोहको आयोजना हुनु आफैँमा खुसीको विषय हो । २०३३ सालमा गङ्गाप्रसाद उप्रेतीलगायतले राजविराजमा परिकल्पना गर्नुभएको र थालनी गर्नुभएको यो संस्थालाई काठमाडौँमा सोद्देश्यमूलक अभियानका रूपमा लैजाने कार्यको अगुवाइ गर्ने वासुदेव अधिकारीदेखि वर्तमानमा यो अभियान चलाइरहनुभएका सबै सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । आजको यो विशेष समारोहमा बालसाहित्यको उन्नयनमा प्रत्यक्ष संलग्न रहिरहनुभएका स्रष्टाहरू स्वयम् उपस्थित हुनुभएको छ । बालबालिकालक्षित साहित्यलाई बालसाहित्य भन्ने गरिएको छ र यसमा पनि बालबालिकाले लेख्ने साहित्य र प्रौढले बालबालिकाका लागि लेखिने साहित्य रहने गरेको छ । विश्वमा ४०% बालबालिका रहेका छन् र भाषा फरक परे पनि बालसाहित्य लेखिएको छ । हाम्रो देशमा १२५ भाषभाषी रहेका छन् र हालै भाषा आयोगले १३२ भाषा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । पूर्वीय तथा पाश्चात्य साहित्यमा बालसाहित्यको सिर्जना हुने गरेको छ । धर्मशास्त्र, नीतिशास्त्र, हितोपदेश आदिमा बालसाहित्यको चर्चा भएको पाइन्छ । चाहे पूर्वीय होस् चाहे पश्चिमा लोकजीवन बालाहित्यमा आउने विषय हो । मनोरञ्जन, जिज्ञासा, ज्ञानको प्रवर्धन, चेतना र सोचको विकास, सिर्जनशीलताको विकास, भाषिक क्षमताको विकास, चारित्रिक सुधार, लोकसंस्कृतिको हस्तान्तरणलगायतको प्रयोजनका लागि बालसाहित्य लेखिनु आवश्यक छ भन्ने मान्यता रहेको पाइन्छ । नेपाली भाषाले एक हजार वर्ष पूरा गरेको छ तापनि अभिलेखकालमा बालसाहित्यको लेखन कम रहेको पाइन्छ । वि.सं.१८१८ मा रमेश मल्लको फुटकर कविता प्राप्त भएको छ भने वि.सं.१८२७ बाट आख्यान, वि.सं.१८३१ देखि निबन्ध र वि.सं.१८५५ देखि नाटक लेखिनथालेको पाइन्छ ।


हजुबाहजुरआमाले सुनाउने लोरी, कथा सुनाएर बालसाहित्यको जगेर्ना भएको अवस्थामा वि.सं.१९४९ मा ‘गोर्खा पहिलो किताब’बाट बालसाहित्यको थालनी भएको मानिन्छ । लोकसाहित्यबाट, शैक्षिक सामग्रीका रूपमा र मौलिक लेखनका रूपमा विकसित बालसाहित्यले वि.सं.१९५८ मा विद्यालय स्थापनापछि वि.सं.१९७० मा आएर गोरखा भाषा प्रकाशिनी समितिले दुइटा पाठ्यपुस्तकमा एक दर्जन बालकविता समावेश गरेको र त्यसमा लेखनाथ पौड्यालका आधा दर्जन समावेश गरिएको पाइन्छ भने वि.सं.१९९७ मा लक्ष्मीप्रसाद देवकोटाको ‘राजकुमार प्रभाकर’ प्रकाशित भएपछि पहिलो मौलिक बालसाहित्यको कृतिका रूपमा स्थापित भएको देखिन्छ । वि.सं.१९४९ देखि २०४९ सम्मको एक सय वर्षको अवधिलाई विभिन्न पाँच चरणमा विभाजन गरेर यो अवधिमा बालसाहित्य उपदेशात्मक एवम् शिक्षण शैलीका रूपमा, मानवेतर पात्रको प्रयोग गरिएको रूपमा, दृश्य वा चित्रमा भन्दा शब्दमा जोड गरिएको अवस्थामा देखिन्छ । २०५० देखि चाहिँ विधागतरूपमा नै बालसाहित्यका र चित्रपुस्तक लेखिएका पाइन्छन् । लक्ष्मीप्रसाद देवकोटाका मात्रै छओटा बालसाहित्यका कृति प्राप्त छन् भने बदरीनाथ भट्टराई, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, रमेश विकल, श्यामप्रसाद शर्मा, युद्धप्रसाद मिश्र, सिद्धिचरण श्रेष्ठ, पारसमणि प्रधान, जनकप्रसाद हुमागाईँलगात सयौँ स्रष्टाले चेतना र जागरणमुखी बालसाहित्यको सिर्जना गरेको पाइन्छ ।


वि.सं.१८३१ को ‘हितोपदेश मित्रलाभ’पछि दर्जनौँ स्रष्टाका बालउपन्यास र बालकथाका कृतिहरू प्रकाशित भएका छन् । त्यसैगरी नाटकका क्षेत्रमा गोविन्दबहादुर मल्ल गोठालेका नाटकमा बालमनोविज्ञानको प्रयोग गरिएको पाइन्छ भने २०२० सालमा चिन्तामणि योगीले बालनाटक लेखेको पाइन्छ । बालनिबन्ध तथा जीवनीमा आधारित थुप्रै कृतिहरू प्रकाशित भएका छन् । २०७८ सालमा प्रज्ञा नेपाली बालनिबन्ध प्रकाशित भएको छ । बालसाहित्यमा चित्रको महत्त्वपूर्ण स्थान रहने हुँदा अहिले आएर शब्दविहीन चित्रकथा, बालशब्दकोशदेखि बालविश्वकोशसम्म प्रकाशित भएका छन् । बालसाहित्यको प्रकाशनमा नेपाल प्रज्ञाप्रतिष्ठानलगायत विभिन्न सङ्घसंस्थाहरूले महत्त्वपूर्ण योगदान गरेका छन् । बालबालिकालाई प्रज्ञाप्रतिष्ठानसँग जोड्ने महत्त्वपूर्ण कार्य भएको छ । २०७८ मा राष्ट्रिय बाल दिवसको अवसर पारेर नौ देशका बालबालिकालाई जोड्ने र साहित्य आदानप्रदान गर्ने कार्यसमेत सम्पन्न भएको छ । प्रज्ञाप्रतिष्ठानका हाम्रो चार बर्से कार्यकालमा १२ ओटा कृति तयार भएका छन् भने तयार भएका केही कृतिलाई हालको नेतृत्वले प्रकाशन नगरी रोक्ने काम गरेको छ । अहिलेको बालसाहित्यको अवस्थालाई मूल्याङ्कन गर्दा प्रत्येक वर्ष २०० देखि २५० ओटा बालसाहित्यका कृति प्रकाशित हुने गरेका छन् भने हालसम्म बालसाहित्यका चार हजार कृतिहरू प्रकाशित भइसकेका छन् । भविष्यको बालसाहित्य चाहिँ उद्देश्यमूलक हुनुपर्ने, प्रविधिमैत्री हुनुपर्ने, बालस्वतन्त्रतामुखी हुनुपर्ने, उमेरसमूहअनुकूल, बालमनोविज्ञानअनुकूलका पाठ्य, श्रव्य र दृश्य सामग्री आवश्यक छ र ती प्रकाशनमा बालशुलभ भाषा, विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गरिनु आवश्यक छ भन्नेसमेतको दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
गोष्ठीमा सोइना दाहाल, महेशराज खरेल, डा.गोविन्दप्रसाद आचार्य, नन्दु उप्रेती, डम्बर पहाडी, कुमार नेपाल, ओमप्रसाद कोइराला, डा.राजेन्द्रप्रसाद अधिकारी, विन्दु अधिकारी ढकाल, उर्मिला पन्त पाण्डेय, गोविन्द घिमिरे वेदमणि, उमेश उपाध्याय, सोमनाथ दाहाल, खेमराज निरौला, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, रामदेव पाण्डेय, डा.कृष्ण सुवेदी, डा.ध्रुवकुमार घिमिरे र गोपालकुमार मैनालीले आआफना् कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो ।


वाचित रचनामाथि टिप्पणी गर्नु हुँदै डा.फणीन्द्रराज निरौलाले आजको यो प्रविधिमैत्री विशेष समारोहमा नेपाली बालसाहित्यको इतिहास, वर्तमान अवस्था र भविष्यका बारेको अत्यन्त लामो, गहन र महत्त्वपूर्ण विषयलाई सङ्क्षिप्तमै तर व्यापक रूपमा प्रा.डा.देवी नेपालले अत्यन्त प्रामाणिक एवम् तथ्यपरकरूपमा परिचर्चा गर्नुभएको छ । चार दशक लामो परिपक्व यात्रा तय गरिसकेको साहित्य सन्ध्याको आजको ४४५ औँ शृङ्खलाको थालनी अत्यन्त सुन्दर राष्ट्रवादी, प्रकृतिवादी बालगीतबाट भएको छ । हाम्रो वर्तमानमा पद र भ्रष्टाचार पर्यायवाची बनेको यथार्थलाई कवितामा उजागर गरिएको छ र इतिहासचेत, कर्तव्यचेतसहित खराब कुराको अन्त्यको आग्रह गरिएको छ । स्वर्गको भ्रम हट्नुपर्ने र चुनौतीका पहाड चढ्नुपर्ने वैचारिकता पनि कवितामा समेटिएको छ । भूकम्पपीडित पीडाका आँसु पिएर बाँच्न बाध्य छन् तर विवेकशून्यको उपस्थितिको लर्काेले झनै पीडा दिएको मर्मान्त यथार्थ पनि कवितामा सशक्तढङ्गले उजागर भएको छ । कवितामा विदेशमोहको त्याग र मातृभूमिको वन्दना गरिएको छ । अनेक प्रकारका पीडैपीडामा बाँच्न बाध्य अवस्थाको चित्रण गरिएको छ । पीडा, चिन्ता र विकृतिको भड्खालोमा परेपछि सुखानुभूतिका कविता कसरी लेख्नसकिन्छ ! भन्ने चिन्ता कवितामा अभिव्यक्त गरिएको छ । समाजमा देखिएका विकृति र विसङ्गतिले कवि व्यथित भएको, पद र प्रतिष्ठाको दुरुपयोग भएको, जे मन लाग्यो त्यही गर्ने तर विधिविधानको बेवास्ता गर्ने प्रवृत्तिका कारण गणतन्त्रको उपहास भएको दूरावस्थाको चित्रण कवितामा भएको छ । सन्देशमूलक बालगीत गाइएका छन् । विविध विषय र सन्दर्भका समकालीन जीवनभोगाइका जीवन्त चित्रण कवितामा गरिएको छ । गद्यलय, शास्त्रीय र गीतिलयका कविताहरूले असल विचार र व्यवहारका माध्यमबाट सामाजिक रूपान्तरण गर्नुपर्ने सन्देश सम्प्रेषण गरेका हुँदा आजको गोष्ठी सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।


समारोहका अध्यक्ष गोपालकुमार मैनालीले यो विशेष समारोमा निमन्त्रणा स्वीकार गरिदिएर सुदूर पूर्वको इलामदेखि जोडिनुभएका स्रष्टाहरू, महत्त्वपूर्ण विषयमा पूर्ण तयारीका साथ उपस्थित भइदिएर विशद परिचर्चा गरिदिनुहुने प्रा.डा.देवी नेपालज्यू, टिप्पणीकार डा.फणीन्द्रराज निरौलाज्यूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । नेपाली समाज र सम्पूर्ण नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राख्ने स्रष्टाहरू धन्यवादका पात्र हुनुहुन्छ । आजको प्रविधि व्यवस्थापन गर्ने ज्ञानु विद्रोहीलाई पनि विशेष धन्यवाद दिन्छु । साहित्य सन्ध्याको अविश्रान्त यात्रामा हामीले सबै सबैबाट पाएको सद्भाव सराहनीय छ, हामी आभार व्यक्त गर्दछौँ । सन्ध्याको ४४६ औँ शृङ्खला भने भौतिक रूपमै सम्पन्न गरिने छ र सो समारोहमा उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *