साहित्य सन्ध्यामा ‘साहित्यमा अन्तरवस्तु र रूपको सन्तुलन’ विषयक चर्चासहित कविगोष्ठी सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४८औँ शृङ्खला फागुन ५ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘साहित्यमा अन्तरवस्तु र रूपको सन्तुलन’ विषयमाथि अत्यन्त विशद चर्चासहित कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।


सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रूपमा साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, भाषा आयोगकी सदस्य माननीय आभा सेतु सिंह, भारत बेङ्लोरका वरिष्ठ उर्दृू गजलकार शैयद जाहिर फना, अग्रज स्रष्टा बेनीबहादुर थापा, मोरङको कानेपोखरी गाउँपालिका न्यायिक समिति संयोजक दुर्गा नेपाली, विराटनगरका स्रष्टा एस.एन.पी.सिङ्गल र गायत्रीकुमार चापागाईँ, डा.गोविन्दप्रसाद आचार्य, डा.रूपनारायण श्रेष्ठ, महेशराज खरेल, डम्बर पहाडी, जयन्ती स्पन्दन, गोपालकुमार मैनाली, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।


‘साहित्यमा अन्तरवस्तु र रूपको सन्तुलन’ विषयमा विशद चर्चा गर्नुहुँदै प्रा.डा.जीवेन्द्र देव गिरीले चार दशकको अथकित यात्रा तय गरिसकेको साहित्य सन्ध्या प्रशिक्षणशाला हो र यसले उत्पादन गरेका स्रष्टाहरू राष्ट्रियरूपमा चर्चामा हुनुहुन्छ । यो संस्थाले हरेक महिना समसामयिक विषयमा वैचारिक बहस गरिरहेको छ । पहिले साहित्यले सिङ्गो वाङमय बुझाउँथ्यो भने अहिले साहित्य भन्नाले सिर्जना भन्ने बुझिन्छ । पश्चिममा प्लेटो र उनीभन्दा अगाडिका विद्वानले दैवी सिद्धान्तका रूपमा सिर्जना हुने कुरा साहित्य हो भनेका छन् भने पूर्वमा पनि शिवले ब्रह्मालाई सिकाए र उनका चेलाहरूले साहित्य सिर्जना गरे भन्ने दैवी मान्यता नै रहेको पाइन्छ । त्यसपछि धेरै कालखण्ड पूरा गर्दै आदर्शवादी, भाववादी साहित्यको उपजका रूपमा साहित्यलाई लिइएको पाइन्छ । तर कार्लमाक्र्सले साहित्य वा कला दैवी सिर्जना नभई जीवनसङ्घर्षले जन्माएको सामाजिक–भौतिक उत्पादन साहित्य हो भन्ने धारणा प्रतिपादन गरेका छन् । यद्यपि अन्तरवस्तु वा विचारलाई प्राथमिकता दिने र रूपलाई कमजोर पार्ने आरोप माक्र्सवादीलाई लाग्ने गरेको पाइन्छ तर यथार्थमा माक्र्सवादी क्षेत्रले नै साहित्यमा अन्तरवस्तु र रूपका बारेमा बढी चर्चा गर्ने गरेको पाइन्छ ।


मनुष्यको चेतनाले सामाजिक अस्तित्व निर्धारण गर्दछ; चेतना जन्मजात प्राप्त भएको हुँदैन । आर्थिक, सामाजिकलगायतका आधारले चेतना निर्माण हुन्छ भन्ने माक्र्सको मान्यतामा नै थप विद्वानहरू पनि रहेका छन् । विषयवस्तु, विचार, अर्थ वा भाव, थिम, सन्देश वा विचार नै अन्तरवस्तु हो । यी सबैको समष्टि अन्तरवस्तु हुन्छ किनभने एउटै विषयमा पनि लेखकहरूको फरक फरक अनुभूतिका कारण सिर्जना फरक हन्छन् । चेतनास्तर, चिन्तन, ज्ञान, अनुभव आदि कुराले सिर्जनामा प्रभाव पार्दछन् । विषयवस्तुमा विचार र सौन्दर्यको अन्तरघुलन हुन्छ । विश्वदृष्टिकोण निर्माणमा जीवनजगत्का कुनै पनि विषयको प्रभाव पर्दछ । सिर्जना वा बहसको विषय गहन र महत्त्वपूर्ण हुनु भने आवश्यक छ । संज्ञान, सौन्दर्य आदि विच्छिन्न गर्ननमिल्नेगरी अन्तरनिहित भएका हुन्छन् । रूप भनेको चाहिँ आकार हो । सिर्जनाको भित्री संरचना राम्ररी मिलेन भने बाह्यसंरचना सुन्दर हुँदैन । शब्द, अलङ्कार, भाषा, शेली, विम्ब आदिको कुशल संयोजन यसमा हुन्छ । अन्तरवस्तुलाई सफलताको चुलीमा पुर्याउने काम रूपले गरेको हुन्छ ।


सिर्जनामा अन्तरवस्तु र रूपको सन्तुलन हुनु आवश्यक छ । प्लेखानोभले अन्तरवस्तु र रूपलाई छुट्याउनै मिल्दैन भनेका छन् । यिनीहरूका बिचमा घनिष्ट सम्बन्ध पनि हुन्छ र द्वन्द्व पनि हुन्छ । अन्तरवस्तु सहज परिवर्तनशील हुन्छ तर रूप धेरै चलायमान हुँदैन, स्थिर हुन्छ । अन्तरवस्तुले रूपान्तरणनिम्ति निरन्तर प्रहार गर्छ र रूपलाई पनि परिवर्तन हुन बाध्य पार्छ, सन्तुलन कायम गर्छ । सन्तुलन मिलेको रचना सुन्दर हुन्छ । रूपवादीहरू ‘कला कलाका लागि’ भन्छन् तर माक्र्सवादीहरू ‘कला जीवनका लागि’ भन्छन् । सिर्जना सम्प्रेष्य र बोधगम्य हुनुपर्छ । निम्छरो विचारको सिर्जनालाई रूपले छोप्ने प्रयत्न ठिक होइन भन्ने समेतको धारणा राख्नुभयो ।


प्रा.डा.हेमनाथ पौडेलले चार दशकको लामो यात्रा गरी स्रष्टा उत्पादनको थलो साबित भएको साहित्य सन्ध्याले कहिल्यै पनि तामझाम नखोजेको तर अविश्रान्त यात्रा भने तय गरिरहेको छ । आजको गहन विषयको बहस महत्त्वपूर्ण छ । स्रष्टाको सिर्जनामा पहिले विचारधारा त्यसपछि दृष्टिकोण अनि कला आवश्यक हुन्छ । विचारविनाको सिर्जना बाहिरबाट देखिने सुन्दर रूप तर भित्र कुहिएको सुन्तलाजस्तै हुन्छ भन्नुहुँदै थप प्रकाश पार्नुभयो ।


समारोहमा विन्दु अधिकारी ढकाल, डम्बर पहाडी एलाक, मोरङकी दुर्गा नेपाली, महेशराज खरेल, कुमार नेपाल, ओमप्रसाद कोइराला, विराटनगरका गायत्रीकुमार चापागाईँ, लीलाराज दाहाल, जयन्ता पोखरेल, नवराज श्रेष्ठ, जयन्ती स्पन्दन, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, डा.गोविन्दप्रसाद आचार्य, ऋचा अधिकारी, विराटनगरका एसएनपी सिङ्गल, लमजुङका नवीन पल्लव, भारतको बेङ्लोरका शैयद जाहिर फना, सोइना दाहाल, सोमनाथ दाहाल, गोपालकुमार मैनाली, डा.हेमनाथ पौडेल, प्रशान्त खरेल, आभा सेतु सिंह, डा.मनोज जोशी र मिसन अधिकारीले आआफ्ना कविता, गीत, गजल, लघुकथा, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।


वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै डा.फणीन्द्रराज निरौलाले चार दशकदेखि अविरल र अविश्रान्त यात्रा गरिरहेको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा पच्चिसजना स्रष्टाका छब्बिसओटा सिर्जना वाचित भएका छन् । कवितामा जीवन बाँच्नुको पीडा अभिव्यक्त भएको छ । समसामयिक विद्रुप विषयवस्तु कवितामा समेटिएका छन् । समाज निराशातर्फ मोडिएको अवस्थामा क्रान्ति रोक्नुहुन्न भन्ने आशावादी सन्देश पनि कविताले सम्प्रेषण गरेका छन् । मुक्तक प्रहारात्मक हुनुपर्ने दिशामा स्रष्टाको ध्यान जानुपर्दछ र अहिलेको प्रणयदिवसलाई धेरै महत्त्व दिनु आवश्यक हुँदैन । परनिर्भरता भित्र्याउनुको पीडा कवितामा अभिव्यक्त भएको छ । श्रमको महत्तागान गाइएका र सरकार जनताको नभएको पीडायुक्त आक्रोश पनि कवितामा अभिव्यक्त भएको छ । सहज अभिव्यक्तिका साथ विम्बात्मक झन्कार कविताले दिनुपर्ने मान्यतालाई आत्मसात गरेर जनताको पक्षमा काम नगर्नेहरूले आमाको दुध होइन रगत पिइरहेका छन् भन्ने आक्रोश पनि अभिव्यक्त गरिएको छ । अग्रजको सम्मान गरिएका र उच्च हार्दिक प्रेमका पक्षमा वकालत गरिएका कविता पनि वाचन गरिएका छन् । स्वाभिमानको जगेर्नाका पक्ष, सांस्कृतिक क्षेत्रमा र भाषामा आएको विचलन वा वैचारिक स्खलनका प्रतिको आक्रोशका कविता वाचन भएका छन् । कवितामा अभिभावकीय दायित्व निर्वाहको आग्रह गरिएको पाइन्छ, देशप्रेमका गीत गाइएको छ । आजको कालिदासको विम्बका माध्यमबाट शासकीय वैचारिक स्खलनको उजागर गरी वर्तमानका समग्र पक्षको पीडा अभिव्यक्त गरिएको छ । क्रान्तिकारितामा आएको विचलन उदाङ्ग पार्ने काम पनि कवितामा गरिएको छ । कविता वा सिर्जनालाई सम्प्रेष्य र बोधगम्य पार्नुपर्ने स्रष्टाको दायित्व रहन्छ । आजका समग्र कविता समसामयिक छन्, प्रतिगमनप्रति आक्रामक छन्, क्रान्तिकारी धार शिथिल हुनुहुन्न भन्ने आग्रहका रहेका छन् । त्यसैगरी विकासनिर्माणको आग्रह पनि कवितामा गरिएको छ । सरकार जिम्मेवार नभएकोप्रति भने सिर्जनाले प्रहार गरेका छन् । पहिचानको लडाइँ आवश्यक रहेको, स्वाभिमानी मानिस जन्माउने अठोट अभिव्यक्त भएको पाइँनुका साथै विषयवस्तु, लयचेतना आदि दृष्टिले धेरै कविता सशक्त रहेका छन् तापनि स्रष्टाको निरन्तरको साधना भने आवश्यक रहेको छ भन्ने धारणा राख्नुभयो ।


समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिनुहुने प्रमुख अतिथि, अतिथिहरूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । निमन्त्रणा स्वीकारेर उपस्थित हुनुभएका स्रष्टाहरू सबैका प्रति पनि आभार व्यक्त गर्दछौँ । आज सुनिएका सिर्जनाले नेपाली समाज र सम्पूर्ण नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राखेका छन् । प्रमुख अतिथिले ‘साहित्यमा अन्तरवस्तु र रूपको सन्तुलन’जस्तो गहन विषयमा सहजढङ्गले विशद चर्चा गरिदिनुभएको छ । साहित्य सन्ध्याको अविश्रान्त यात्रामा हामीले सबै सबैबाट पाएको सद्भाव सराहनीय छ, हामी आभार व्यक्त गर्दछौँ । सन्ध्याको ४४९ औँ शृङ्खलामा पनि कुनै समसामयिक विषयमा छलफल तथा बहस गर्नेगरी उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *