– मुक्तिनाथ शर्मा
इतिहास खोतलेर हेर्दा समय समयका कुरा समाजले स्विकार गदै आएको देखिन आउछ । यसो भएकै कारण मानव बिकासका खुड्किला माथि चड्दै आइएको हो भने हुन्छ । दिव्य कुराहरु यदा कदा अवतरण गर्ने गर्दछन समाजमा । नेपाली समाजमा केही समय पहिले त्यस्तै एउटा प्रशंसनीय कुरा अवतरण भएको थियो । त्यो भनेको आफ्नो गाउँ आफै बनाउँ हो । यो अभियान नेपालमा पहिलो पटक कम्युनिष्ट शासन भएका बेला अवतरण भएको हो । यद्यपि पहिले यसका बिरुद्ध प्रतिपक्षबाट चर्को बिरोध भएकै हो तापनि यो नेपालका निमित्त अति महत्वपूर्ण बोली वा आह्वान भएकाले राम्रै संग स्थायित्व पाएको छ । त्यसै गरि अर्को पटक कम्युनिष्ट शासन भएको अहिलेको अवस्थामा एउटा महत्वपूर्ण आह्वान भएको छ त्यो हो एक गाउँ एक पोखरी । यो अभियान आफ्नो गाउँ आफैं बनाउ जस्तै अति महत्वपूर्ण देखिएको छ । किनभने यो अभियान नेपालको वास्तविक अवस्था बुझेर आएको छ । यसका प्रवर्तक हुन बर्तमान सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भटराई । यो सारै महत्वपूर्ण बोली हो । किनभने यसै अनुसार नगरिए नेपालमा जीवन निर्वाह नहुने अवस्था आइसकेको देखिएको छ । त्यसैले यसलाई गम्भीर रुपमा लिन अति जरुरी छ ।
नेपाल यस्तो देश हो जहाँ पानी प्रसस्त छ अर्थात चाहिने भन्दा बढि छ । भनिन्छ नेपाल अपार जलस्रोत वा शक्ति भएको देश हो । यहाँ उत्तर बाट दक्षिण बहने नदीहरु प्रसस्त छन । ताल छन र झरना खोलाहरु प्रसस्त छन । पानी कति हुन्छ भन्ने कुराको तथ्याङ्क हामी संग छैन । यति भन्न सकिन्छ अथाह छ यहाँ पानी । अनि भन्न सक्छौं सबै पानी पिउन योग्य छ । फेरि पनि भन्नैपर्दछ यसको सदुपयोग गर्न सकिएको छैन ।
हाम्रा गाउँहरु तथा सहरी क्षेत्रमा जता ततै बर्षामा पानी अति हुन्छ । यो बहेर जाने मात्र होइन यसले बाढी बनेर प्रसस्त धन जनको नोक्सान गर्दछ । नदीले जमिन कटान गर्दछ, छहरे खोलाहरुले पहिरा चलाउछन र झरनाहरु मात्तिने अवस्था हुन्छ । गाउँका गाउँ डुवानमा पर्दछन ।,यस्तो हुदा हामीलाई लाग्न पुग्दछ पानी हाम्रो शत्रु हो यो अभिशाप भएर देखा पर्दछ ।
बर्षामासमा हामीलाई यस्तो हुन्छ अर्थात पानीले सताउन पुग्दछ भने हिउदमा पानीको अभाव भएर पिउने पानी सम्म पनि पाउदैनौं हामी । हाहाकार हुन्छ । पाखा पखेरामा सिञ्चाइ गरि खेती गर्न पाइदैन र भवितव्य परि आगलागी हुदा आगो निभाउने पानी पाउदैनौ हामी । बन जङ्गलमा आगो लाग्दा त्यसलाई नियन्त्रण गर्न पानी नै हुदैन । उता खोलाहरु बाट पानी बहेर गैरहेको हुन्छ । यस्तो अनौठाको अवस्था छ हाम्रो । यि यस्तै अनुभूतिले निस्केको हो महान बाणी “एक गाउँ एक पोखरी ” यसलाई हामीले गम्भीर रुपमा लिनु पर्दछ । कार्यान्वयनमा उत्रन परेको छ हामीले । यहाँ अर्को कुरा पनि थपगर्न पर्ने अवस्था छ त्यो के भने एक टोल एक पोखरी को अभियान पनि त्यत्तिकै जरुरी छ ।
गाउँ गाउहरुँमा एक गाउँका निमित्त एक पोखरी बनाएर बर्षाको पानी संगालि हिउदमा सिञ्चाइ तथा पिउने पानीका निमित्त प्रयोग गर्न सकियो भने हाम्रो जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ, पशुपालन तथा फलफूल खेतीमा त्यसै गरेर सहयोग पुग्दछ र आगलागीको चपेटा बाट बच्न समेत सकिने हुन्छ । त्यसैले गाउँ गाउँमा आवस्यकता अनुसारका पोखरी बनाइनु आवस्यक छ । यसो गर्न सकेमा खेर जाने पानी उपभोग हुन्छ र हाम्रो समाज सुखमय बन्छ । त्यसैले यो अभियानलाई समाजले साकार रुप नदिइ नहुने अवस्था छ ।
गाउँमा एक गाउँ एक पोखरी जस्तै सहरी क्षेत्रमा एक टोल एक पोखरी हुनु पर्ने कुरा पनि अहिलेको महत्वपूर्ण कुरा हो । किन भने सहरमा घना बस्ती हुन्छ र त्यहाँ बढि पानीको आवस्यकता पर्दछ । सहरमा जनताका निमित्त पिउने पानी बितरण हुनु पर्दछ र फोहोर बगाउन वा धोइ पखाली गर्न पनि पानी चाहिन्छ । भवितव्य परि आगलागी हुदा त्यसको नियन्त्रण गर्न पानीको आवस्यकता पर्दछ । त्यसै गरि सहरी क्षेत्रमा जमिनको पानी निकाल्ने गरिन्छ । त्यसबाट जमिन भित्रको पानीको सतह घट्ने र त्यस बाट सहरहरु असुरक्षित हुने डर हुन्छ । त्यसका निमित्त जमिन मुनि पानी रिचार्ज अर्थात इञ्जेक्ट गर्न पर्ने समेत आवस्यकता बताउन थालेका छन बिज्ञहरु । त्यो कार्यका निमित्त पनि पानी पोखरी वा पानी भण्डारको अति आवस्यकता महसुस भैसकेको अवस्था छ अहिले नेपालमा ।
काठमाण्डौ,भक्तपुर र ललितपुर यि तीन सहरको बस्ती घना भएर र तिब्र रुपमा बिस्तार भएका कारण यहाँ पानीको हाहाकार भैसकेको अवस्था छ । यहाँका प्राकृतिक पानीका मुल सुकिसकेका छन । बागमती, बिष्णुमती आदि यहाँका नदीहरु बर्षामा उग्र रुप लिन पुग्छन भने हिउदमा त्यहाँ पानी हुदैन । नदीहरुमा ढलको प्रदुषित फोहोर पानी मात्र बहने हुदा हावामा समेत दुर्गन्ध फैलिने गर्दछ । आगलागी हुदा बारुण यन्त्रमा भर्ने पानीको अभाव हुन्छ । पोखरीहरु छैनन । त्यसैले यहाँ मजबुत पोखरीहरुको अति अति आवस्यक भैसकेको छ । तर जमिन समेत पाउन मुस्किल हुन गैरहेको छ । तसर्थ सम्भाव्य जमिन खोज्न पर्ने भएको छ राज्यले ।
काठमाण्डौ, भक्तपुर र ललितपुर सहरको करीव बिचमा पर्ने त्रिभुवन हवाइ अड्डा नजिकको कोटेश्वर र बानेश्वरको बिचमा एउटा खाली जमिन देखिएको छ । त्यो जमिन तीन कुना परेका कारण तीनकुने नै भन्ने गरिएको छ । तीनकुनेको चारैतिर राजमार्ग छ । त्यहाँ बाट चावहिल, बानेश्वर भक्तपुर तथा पाटन तिर जाने राजमार्गहरु छन । त्रिभुवन हवाइ अड्डा संगै छ । यसरि यो ठाउँ तीन सहरको केन्द्रबिन्दुमा रहेको छ । पर्यटकीय दृष्टिकोंणबाट हेर्दा समेत यो ठाउँ पोखरी बनाउन अति उपयोगी देखिएको छ । यस ओरपर पोखरी छैनन र पोखरी बनाउन योग्य खाली जमिन देखिएको पनि छैन । त्यसैले भन्न खोजिएको हो त्यहाँ एउटा मजबुत पोखरी निर्माण गरियोस । यसलाई जमिन सतह भन्दा भित्र बनाए पनि हुन्छ । अतः यहाँ एउटा शक्तिशाली पोखरी निर्माण गरेर हिउद तथा बर्षा हरहमेसा भरिभराउ राखी सहरमा पानी बितरण गर्ने व्यवस्था होओस ।
अहिले कताकती कुरा झर्ने गरेका छन त्यो स्थानमा सर्कारले अरु कुनै काम गर्न खोज्दै छ । शहीद स्मारक वा यस्तै अन्य केही गर्ने भन्ने पनि चर्चा छ । त्यस्तो कुनै योजना भएको भए पनि खास फरक पर्दैन । कारण पोखरी बाटोको सतह भन्दा तल जमिन भित्र नै हुन सक्छ । त्यसो गर्दा अझै बेस हुन्छ । किनभने जमिन भित्रको भाग पनि सदुपयोग हुन सक्छ । पोखरी माथी ढलान गरेर फोहरा बनाइ सुन्दरतामा बृद्धि गराएर पनि तल पोखरी हुन सक्छ । भित्र शक्तिशाली पोखरी र माथी शहीद स्मारक बगैचा र त्यसको पनि माथी चुलीमा शान्तिका अग्रदूत भगवान बुद्धको भव्य मूर्ति सजाइने हो भने काठमाण्डौ,भक्तपुर तथा ललितपुर तीनै सहरको शोभा उच्च हुन्छ । पोखरीको पानी बाट बारै महिना बारै काल फोहरा उठाइ झर्ने पानी त्यही पठाएर चमत्कारिक काम हुन सक्ने देखिन्छ । पिउने पानी, बारुणयन्त्रमा भर्ने पानी र जमिनमा इञ्जेक्ट गर्ने पानी समेत हुन्छ । तसर्थ यता पट्टि सोच्ने हो कि ?
तीनकुनेको जमिन भित्र ठूलो पोखरी, तीनकुनामा फोहरा, त्यो भन्दा माथि भव्य पुष्पबाटिका, अर्को खण्डमा शहीदहरुका सालिक र सबै भन्दा माथि बुद्धको मूर्ति हुने हो भने निश्चय पनि सारै महत्वपूर्ण र सुन्दरतम हुन्छ त्यो भूमि । पर्यटकीय दृष्टिकोंणले पनि यो योजना महत्वपूर्ण हुन सक्छ । राष्ट्रिय इज्जतमा सकारात्मक प्रभाव पर्दछ । त्यसैले त्यस्तै होओस भनेर प्रार्थना गर्न मनलागेको छ । अस्तु ।